NRNA खबर देश विदेश

वैदेशिक रोजगारीलाई मर्यादित बनाउन एनआरएनएद्वारा श्वेतपत्र बनाउने तयारी

काठमाडौ, फागुन २१–गैर आवासीय नेपाली संघ (एनआरएनए) ले वैदेशिक रोजगारी मर्यादित बनाउन श्वेतपत्र बनाउने तयारी थालेको छ । एनआरएनएले वैदेशिक रोजगारी व्यवस्थित मर्यादित तथा सुरक्षित बनाउनका लागि आफ्नो धारणासहितको श्वेतपत्र तयार पार्न लागेको हो । संघले वैदेशिक रोजगार सम्बन्धी आधिकारिक धारणासहितको श्वेतपत्र तयार गर्नका लागि विभिन्न निकायसँग छलफल समेत सुरु गरेको छ ।

संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा गैर आवासीय नेपाली कल्याणकारी हित विभागका प्रमुख डा. बद्री केसीले वैदेशिक रोजगारीको क्षेत्रमा हाल देखिएका समस्या समाधानका लागि धारणासहितको श्वेतपत्र तयार पार्न लागिएको जानकारी दिए । उनले श्वेतपत्रमा वैदेशिक रोजगारीमा देखिएका समस्या र त्यसको समाधानमा गैर आवासीय नेपाली संघको भूमिका लगायतका विषयवस्तुहरु समेटिने बताए ।

उपाध्यक्ष डा. केसीले वैदेशिक रोजगार कोषको प्रभावकारी उपयोग, वैदेशिक रोजगारीमा जानेहरुको सामाजिक सुरक्षा तथा वैदेशिक रोजगारीका लागि संघको आधिकारीक धारणा समेटिने विषयका बारेमा छलफल गर्दै श्वेत पत्रको लागि गृहकार्य थालेको जानकारी दिए । सोही विषयमा मंगलबार विभिन्न विज्ञ तथा सरोकारवालाहरु सँग गरिएको छलफलमा उनिहरुले आ–आफ्ना धारणा व्यक्त गरेका थिए । विज्ञ तथा सरोकारवालाहरुले आधिकारीक धारणा पत्र बनाउन लागेकोमा स्वागत योग्य काम भन्दै वैदेशिक रोजगारी सम्बन्धि आफ्ना धाराणाहरु राखे ।

उनीहरुले संघले सबै विषय समेट्नु भन्दा पनि आफ्नो स्तरबाट योगदान गर्न सक्ने र आफुले प्रभाव पार्न सक्ने क्षेत्रहरुमा केन्द्रित हुन आग्रह गरे । उनीहरुले वैदेशिक रोजगारीमा जानेहरुका लागि आवश्यक सीप र फर्किएकाहरुको सीपको सदुपयोगबारे ध्यान दिन संघको ध्यानाकर्षण गराए । संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा गैरआवासीय नेपाली कल्याणकारी हित विभागका प्रमुख डा. केसीले संघले वैदेशिक रोजगारको क्षेत्रलाई मर्यादित व्यवस्थित एवम् सुरक्षित बनाउनका लागि नेपाल सरकार र सरोकारवाला संघसंस्थाहरुसँग समन्वय तथा सहकार्य गरी आफ्ना गतिविधिहरु संचालन गर्दै आएको जानकारी दिए ।

उनले संघले वैदेशिक रोजगार सम्बन्धी आधिकारीक धारणा पत्र बनाइरहेको बताउँदै थप राय सुझावका लागि आग्रह गरे । बैठकमा सहभागीले हालै विश्वभर महामारीको रुप लिन खोजीरहेको कोरोना भाइरसले वैदेशिक रोजगारी र नेपाली अर्थतन्त्रलाई गम्भिर संकट पार्न सक्ने बताउँदै नियन्त्रणका लागि पहल गर्न सुझाव दिए । उनीहरुले उक्त रोगको नियन्त्रणका लागि संघले विदेशको अनुभवी ज्ञान र श्रोत उपयोग गर्नुपर्ने समेत बताए ।

कार्यक्रममा वैदेशिक रोजगारका विज्ञहरु डा. गणेश गुरुङ, नेपाल सरकारका पूर्व सचिव पूर्ण चन्द्र भट्टराई, मधुविलाश पंडित, रामेश्वर नेपाल, गोविन्दमणी भूर्तेल, सरोकारवाला निकायका प्रतिनिधिहरु र संघको तर्फबाट उपाध्यक्ष डा. बद्री केसी, सचिव आरके शर्मा, सह–कोषाध्यक्ष लोकप्रसाद दाहाल लगायतको उपस्थिती रहेको थियो ।

Featured