देश

संघीयता कार्यान्वयनमा केन्द्र सरकार इमान्दार भएन :राउत

जनकपुर, फागुन १६–प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले संघीयता कार्यान्वयनका लागि संघ सरकारबाट इमान्दार प्रयास हुन नसकेको बताएका छन् । मानव अधिकार पत्रकार संघले जनकपुरमा आयोजना गरेको संघीयता कार्यान्वयनमा सरोकारबलाको भूमिका विषयक कार्यशालामा मुख्यमन्त्री राउतले विविधता भित्रको एकतालाई दर्शाउन मुलुकमा संघीयता ल्याइए पनि कार्यान्वयन गर्ने पक्ष इमान्दार हुन नसकेको आरोप लगाए ।

उनले संघीयता कार्यान्वयनको लागि सबैभन्दा महत्वपूर्ण पक्ष रहेको प्रदेशलाई कमजोर बनाउन विभिन्न चलखेल भइरहेको उल्लेख गर्दै भने, ‘सुरुमा कामै न लाग्ने कर्मचारीहरु पठाइयो, बजेटको बाँडफाँड पनि अन्याय पूर्ण भयो । कसरी संघीयता कार्यान्वयन हुन्छ ।’

उनले केन्द्रिकृत एकात्मक सोच बोक्नेहरु संघीयतालाई कमजोर गर्न जति प्रयास गरे पनि अबको पाँच वर्षमा मुलुक कोल्टो फेर्नेमा आफू विश्वस्त रहेको बताए । उनले भने, ‘गाँउ गाँउमा विकासको आभास भईरहेको छ, जनताको घर घरमा प्रदेश सरकारको अनुभूति गराउने काम भइरहेको छ ।’