देश

घुस लिँदै गर्दा वडासचिव अख्तियारको फन्दामा

जनकपुर, फागुन १६–अख्तियार दुरुपयोग अनुन्धान आयोगका टोलीले एकजना सेवाग्राहीसँग घुस लिइरहेको बेला धनुषाको एक वडासचिवलाई आज पक्राउ गरेको छ । धनुषाको धनौजी गाउँपालिका–२ का वडा सचिव सुशील ठाकुर २० हजार घुस सहित अख्तियार दुरुपयोग अनुन्धान आयोगको फन्दामा परेका छन् । सचिव ठाकुरले जन्म प्रमाणितको सिफारिस वापत २० हजार रुपैयाँ मागेपछि पक्राउ परेका हुन् ।

जन्म प्रमाणित गराउन एक सेवाग्राहीलाई २० हजार रुपैयाँ घुस दिन भनेपछि गोप्य सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटिएको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो ।

ठाकुरलाई २० हजार रुपैयाँ लिसकेको अवस्थामा रकमसहित उनकै कार्यकक्ष (अफिस) बाट नियन्त्रणमा लिएको हो । सचिव ठाकुरलाई अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासमा लगिएको जनाईएको छ ।