देश

राष्ट्रियसभामा गौतम सिफारिस हुनुहुन्छ : अध्यक्ष दाहाल

चितवन, फागुन १६–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा पार्टीका उपाध्यक्ष वामदेव गौतम नै मनोनीत हुने बताएका छन् । प्रेस सङ्गठन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीले गौतमलाई नै सिफारिस गर्ने बताए ।

आफू र प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीको संयुक्त अध्यक्षतामा बसेको सचिवालय बैठकले सर्वसम्मतरुपमा गौतमलाई सिफारिस गर्ने निर्णय गरेको दाहालको भनाइ थियो । अर्थमन्त्री हुनका लागि राष्ट्रियसभामा जानैपर्छ भन्ने नभएको बताउँदै उनले ६ महिनासम्म सांसद नभएको व्यक्ति पनि मन्त्री हुनसक्ने उल्लेख गरे ।

संविधान संशोधन गरेर प्रधानमन्त्री हुने भए मात्र राष्ट्रियसभामा जाने उपाध्यक्ष गौतमको शर्त भने गएको सचिवालय बैठकबाट हटेको दाहालको भनाइ थियो । उनले संविधान संशोधन एउटा प्रक्रियामा अघि बढ्ने जानकारी पनि दिए ।

उपाध्यक्ष गौतम सिफारिसका लागि व्यवसायीसँग बैठक बसेको भन्ने भनाइ कपोलकल्पित मात्र भएको उनले बताए । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति र नेतासँग भएको भेट सामान्य राजनीतिक प्रक्रिया मात्र भएको उनले टिप्पणी गरे । रासस