देश

विश्वकै लोपोन्मुख गिद्धको नयाँ प्रजाति जाजरकोटमा फेला

जाजरकोट, फागुन १६–प्रकृतिको कुचिकार मानिएको गिद्धको नयाँ प्रजाति जाजरकोटमा फेला परेको छ । समुद्र सतहदेखि १ हजार ७ सय मिटरको उचाइ रहेको वारेकोट गाउँपालिका–१ आग्रखोलामा राज नाम गरेको एक जोडी गिद्ध भेटिएको हो । जाजरकोटमा चरा, अन्य लोपोन्मुख जन्तुको संरक्षण तथा खोजीमा क्रियाशील गोविन्दबहादुर सिंहका अनुसार बारेकोट गाउँपालिकाको जङ्गलमा भेटिएको गिद्ध विश्वकै लोपोन्मुख चराका रुपमा रहेको छ ।

अरुभन्दा फरक गुण र स्वभाव गरेको यो राजगिद्ध नेपालको तराई भेगमा पाइने भए पनि जाजरकोटमा यसको वासस्थान रहेछ भन्ने प्रमाणित भएको सिंहले बताए । राजगिद्ध अरुको मुखको सिनो पनि खोसेर खाने तथा सिनो खाइरहेको अवस्थामा कुनै पनि गिद्धले यसलाई आक्रमण गर्न नसक्ने स्वभाव भएको चराका रुपमा लिने गरेको उनले जानकारी दिए ।

यसअघि जाजरकोटलाई बासस्थान बनाएका सेतो, हाडफोर, सुन र हिमाली गिद्ध गुँडसहित भेटिएका छन् । पछिल्लो समयमा सिमलको रुख विनाश तथा सिनोमा विषादी मिसिएकाले यसको सङ्ख्या घट्दो रहेको पंक्षी विज्ञको भनाइ छ ।