देश

प्रदेश सरकारले सहुलियत ब्याजमा कृषि ऋण दिने

सुर्खेत, फागुन १३–कर्णाली प्रदेश सकारले ‘व्यावसायिक कृषि तथा पशुपन्छीपालनका लागि सहुलियत ब्याजमा कृषिऋण दिने कार्यक्रम कार्यविधि २०७६’ पारित गरेको छ । ५ फागुनमा बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले कार्य्विधि पारित गरेको हो ।

व्यावसायिक कृषकहरूलाई अनुदान कार्यक्रम सञ्चालन गरी व्यावसायिक कृषि तथा पशुपन्छीपालन व्यवसाय विकासमार्फत कृषकहरूको रोजगारीमा वृद्धि गर्दै उनीहरूको जीवनस्तरमा सुधार गर्ने उद्देश्यले कार्य्विधि पारित गरेको हो ।

कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा कर्णाली प्रदेशमा सञ्चालित कृषि तथा पशुपन्छीजन्य व्यवसाय र सोसम्बन्धी उद्योग व्यवसायका लागि कर्जा प्रवाह गरिने कर्णाली प्रदेश सरकार प्रवत्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले जानकारी दिइन् ।

‘यस कार्यक्रममार्फत व्यावसायिक कृषकलाई ब्याज अनुदान दिने गरी कार्यक्रम ल्याएका छौँ,’ उनले भनिन्, ‘मन्त्रालयले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाबाट कृषकले सहुलियत ऋण पाउनेछन् ।’ तरकारी, फलफूल, जडीबुटी, दुग्ध पदार्थ तथा माछामासु आदि उत्पादन गर्ने व्यावसायिक कृषकलाई कृषि तथा पशुपन्छी कर्जा १ करोड रुपैयाँसम्म दिने प्रवत्ता केसीले जानकारी दिइन् ।