देश

कञ्चनपुरबाट १० क्विन्टल अवैध कुखुरा बरामद

धनगढी, फागुन १३–कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२, कालागौंडीबाट अवैध रूपमा भारतबाट ल्याउँदै गरेको १० क्विन्टल कुखुरा सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । सशस्त्र प्रहरी बलको ३५ नम्बर गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी नायव निरीक्षक केशवदत्त विष्टको कमाण्डमा रहेको गस्ती टोलीले मोटरसाइलमा ल्याउँदै गरेको ४ सयवटा जिउँदो (१० क्विन्टल) कुखुरा बरामद गरेको हो ।

बरामद कुखुरा २ लाख ४० हजार मूल्यबराबर रहेको सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वीरसिंह शाहले बताए । अवैध कुखुरा बोक्न प्रयोग गरिएका ४ थान मोटरसाइलसमेत बरामद गरिएको उनले बताए ।

उनका अनुसार से २ प ६८३, म १ प ४६९, म २ प १२६४ र भारतीय यू.पी. ३१ वि.सी ८५०१ नम्बरका मोटरसाइल बरामद गरिएको छ । सशस्त्र प्रहरीको टोली देखेपछि कुखुरा तस्करीमा संलग्नहरू भागेको सशस्त्र प्रहरी उपरीक्षक शाहले बताए ।बरामद गरिएका कुखुरा सरोकारवालाको रोहबरमा नष्ट गरिएको छ । बरामद मोटरसाइललाई भन्सारमा बुझाउने तयारी गरिएको छ ।