विदेश

कोरोना भाइरसको महामारीसँग जुध्न तयार रहन डब्लूएचओको आग्रह

एजेन्सी, फागुन १३–गत डिसेम्बरमा चीनको हुबेई प्रान्तको वुहानबाट सुरु भएको कोरोना भाइरस विश्वव्यापी महामारीका रूपमा अघि बढेको भन्दै यसको सामना गर्न तयार रहन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले आग्रह गरेको छ । डब्लूएचओले कोरोना भाइरस विश्वव्यापी महामारी बन्न लागेको भन्दै यससँग जुध्नका लागि विश्वव्यापी रूपमा थप तयारी गरिनुपर्ने बताएको छ ।

कोरोना भाइरसको प्रकोपलाई अहिले नै ‘प्यान्डेमिक’ वा विश्वव्यापी महामारी भन्न सकिने अवस्था नरहे पनि राष्ट्रहरू ‘तयारीको चरणमा’ रहनुपर्ने डब्लूएचओले जनाएको छ । स्वासप्रश्वासको समस्या उत्पन्न गराउने कोभिड–१९ को प्रकोप दक्षिण कोरिया, इटली र इरानजस्ता देशहरूमा फैलिने क्रम जारी छ ।

सोमबार मात्रै इराक, अफगानिस्तान, कुवेत, ओमान र बहराइनमा कोरोना भाइरसको पहिलो संक्रमण फेला परेको बताइएको छ। ती सबै देशमा संक्रमण भएका पाइएकाहरू इरानबाट आएको बताइएको छ। डब्लूएचओका अनुसार इरान, इटली र दक्षिण कोरियामा देखा परेको कोरोना भाइरसका नयाँ घटना ‘निकै चिन्ताजनक’ रहेको बताएका छन् ।

Featured