देश

उपचारका लागि प्रधानमन्त्री आज सिंगापुर जाँदै

काठमाडौं, साउन १८-प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरस्थित‘नेसनल युनिभर्सिटी हस्पिटल’मा स्वास्थ्य परीक्षणका गर्न आज साँझ त्यसतर्फ जाँदै छन्।

गत शुक्रबार छाउनीस्थीत सैनिक अस्पतालमा स्वास्थ्य परीक्षण गरेपछि चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि उनी आज बेलुका ९ः४५ बजे सिल्क एयरबाट सिंगापुर जान लागेका हुन्।

स्वास्थ्यमा समस्या थपिएपछि परीक्षणका लागि निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहसहित सिंगापुर जान लागेका प्रधानमन्त्री ओली एक साता बस्ने छन्।

गत शुक्रबार छाउनीमा गरिएको नियमित परीक्षणमा उनको युएसजी ग्याइडेड ‘रेनल बायोप्सी’ गरिएको थियो। सो परीक्षण गर्दा उनको रगतमा क्रिएटिनिनको मात्रा बढेको देखिएको थियो।

चिकीत्सकका अनुसार रेनल (मिर्गौलाको) बायोप्सीमा सुईको माध्यमले मिर्गौलाको तन्तुको एउटा सानो नमुना निकालिन्छ। यो परीक्षण प्रत्यारोपण गरिएको मिर्गौलाले कसरी काम गरिरहेको छ भनेर थाहा पाउन गरिन्छ।

मिर्गौलाको कार्यप्रणालीमा कमी, पिसाबमा निरन्तर रगत वा प्रोटिन देखिएमा मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिको मात्र यस्तो परीक्षण गरिन्छ।

प्रधानमन्त्री ओलीको सन् २००७ मा भारतको दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। ६ वर्षअघि उनको हातमा देखिएको संक्रमण देखिएपछि थाइल्याण्ड र दिल्लीमा उपचार उपचार गराएपछि मात्र निको भएको थियो।

एक वर्षपहिले प्रधानमन्त्रीको पदबहाली गर्नुअघि उनी नियमति परीक्षणका लागि थाइल्याण्ड गएका थिए।