NRNA खबर देश विदेश

दिपावली गर्दै ७० औँ प्रजातन्त्र दिवस मस्कोमा पनि मनाइयो

मस्को, फागुन ८–नेपालमा १ सय ४ वर्षको जहानियाँ राणाशासन अन्त्यगरी देशमा आमुल परिवर्तन आएको दिनको रुपमा मनाइने प्रजातन्त्र दिवस रुसको राजधानी मस्कोमा पनि भव्यरुपले मनाइएको छ । मस्कोस्थित नेपाली दुतावासको आयोजनामा दिपावलीसहितको कार्यक्रम गरि बुधबार ७० औँ प्रजातन्त्र दिवस भव्यरुपले मनाइएको हो ।

मस्कोस्थित नेपाली दुतावासको सभाहलमा दिवसका अवसरमा आयोजित कार्यक्रममा रुसका लागि नेपाली राजदुत ऋषिराम घिमिरेले शहिदहरुको बलिदानीले नेपालमा निरंकुश जहानियाँ राणाशानको अन्त्य भएको बताए । उनले तत्कालिन समयमा जहानियाँ राणाशासनका विरुद्धमा उत्रेको जनलहरले सो शासन अन्त्यगरी मुलुकमा प्रजातन्त्र स्थापना भएको दिन फागुन ७ गते विश्वभर रहेका नेपालीका लागि महत्वपूर्ण दिन भएको बताए ।

उनले २०४७, २०६२/०६३ को जन आन्दोलन, जनयुद्ध एवम् परिवर्तनका लागि भएका विभिन्न आन्दोलनले नेपाल संघिय लोकतान्त्रीक गणतन्त्रमा प्रवेशगरी हाल समृद्ध नेपाल र शुखि नेपालीको पथमा अघि बढेको बताए । उनले सरकारले लिएको समृद्ध नेपाल र शुखि नेपालको राष्ट्रिय आकांक्षा तीनै आन्दोलन र शहिदहरुको बलिदानीले सार्थक भएको बताए ।

कार्यक्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए) का वरिष्ठ उपाध्यक्ष डा. बद्री केसीले दिवसको अवसरमा शुभकामना दिँदै विश्वभरका नेपालीले सो दिवस भुल्न नहुने बताए । सो अवसरमा गैर आवासीय नेपाली संघ (एनआरएनए) रसियाका अध्यक्ष शिवमणी भुर्त्यालले प्रजातन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै नेपालको विकास र समृद्धिमा सम्पूर्ण गैर आवासीय नेपालीको साथ र सहयोग रहने बताए ।

कार्यक्रममा रुसमा ६ दशकदेखी बसोबास गर्दै आएका वरिष्ठ साहित्यकार कृष्णप्रकाश श्रेष्ठले प्रजातन्त्र स्थापनाको समयमा आफु ११ वर्षिय बालक रहेको स्मरण गर्दै जहानियाँ राणा शासनमा जनताले भोगेका पिडा र समस्याकाबारेमा आफ्नो अनुभव सुनाएका थिए । सो अवसरमा विश्व साहित्य संघ रुसका अध्यक्ष गोविन्दप्रसाद गौतमलेसमेत शुभकामना व्यक्त गरेका थिए ।