देश

पदाधिकारी कुर्दै आयोग कर्मचारी

काठमाडौं, फागुन ३–पुल्चोकस्थित श्रीमहल हाताको भवनमा आदिवासी जनजाति आयोगको बोर्ड टाँगिएको करिब डेढ वर्ष भइसक्यो । भावी पदाधिकारीका निम्ति कार्यालय परिसरमा सातवटा नयाँ गाडी तयारी अवस्थामा राखिएको पनि नौ महिना बित्न लागिसक्यो । तर कर्मचारीका भरमा रहेको आयोगले न कुनै कार्ययोजना बनाउन सकेको छ न नयाँ काम गर्न । कर्मचारीको काम कार्यालय कुर्ने, हाजिर गर्ने र तलब खाने मात्र भइरहेको छ ।

यसअघि सदस्यसचिव तोकिएका सहसचिवले गत भदौमै अवकाश पाएपछि माघ अन्तिम साता सहसचिव सुशील श्रेष्ठ त्यो पदमा आएका छन् । ‘आयोग नयाँ भएकाले पदाधिकारी अभावमा केही कार्ययोजना बनेको छैन,’ उपसचिव कमलप्रसाद घिमिरे भन्छन्, ‘सदस्यसचिव आए पनि पदाधिकारी नभएपछि संविधान तथा आयोगसम्बन्धी ऐनले भनेका काम गर्न नमिल्ने रहेछ ।’ कार्यालय हातामा राखिएका नयाँ गाडी खिया लाग्न थालेपछि सातामा एक दिन आलोपालो चलाउने गरिएको उनले बताए ।

राष्ट्रिय दलित आयोगको कार्यालय ललितपुरको जावलाखेलमा छ । नयाँ संविधानले संवैधानिक आयोग बनाएपछि पदाधिकारी नियुक्त गरिएको छैन । आयोगका उपसचिव तथा प्रवक्ता शंकर दयाल पदाधिकारी नहुँदा संविधान र ऐनमा उल्लेख भएका काम गर्न नसकिएको बताए । ‘पदाधिकारीको अभावमा संविधानबमोजिमका कुनै पनि नीतिगत निर्णय अघि बढेका छैनन्,’ उनले भने, ‘नियमित प्रशासनिक काम मात्र हुँदै आएको छ ।’ कान्तिपुरबाट