देश

सप्तरीमा आज मुस्लिम सम्मेलन, सहभागी हुन आएका पाकिस्तानीलाई फर्काइँदै

जनकपुर, फागुन ३–सप्तरीको बोदेवरसाइन नगरपालिका–५ जाजरमा शनिबार मुस्लिम समुदायको धार्मिक सम्मेलन हुँदैछ । करिब २ लाख मुस्लिम धर्मालम्बीले सहभागीता जनाउने ठानिएको सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजकहरूले जनाएका छन् ।

भव्य तयारी गरिए पनि सम्मेलन विवादरहित बन्न सकेन । आयोजकले सुरुमा नेपाल र भारतका मुस्लिम समुदायको मात्र सहभागिता हुने भनेर अनुमति लिए पनि पछि तेश्रो मुलुकका नागरिक सहभागी हुन आएपछि सम्मेलन विवादित बनेको हो । अन्य मुलुकका नागरिक सहभागी आउन थालेपछि गृह मन्त्रालयले बिहीबार सम्मेलन रोक्न निर्देशन दिएको थियो । मुस्लिम आयोगको समन्वयमा आयोजक विदेशी नागरिकहरूलाई फर्काउन तयार भएपछि शनिबारदेखि उक्त सम्मेलन हुने निश्चित भएको छ ।

सम्मेलनस्थलमा विदेशी नागरिक फर्काउन थालिए पनि शुक्रबार मात्र जहाज चढेर ७ जना पाकिस्तानी नागरिक राजविराज आएका सुरक्षा स्रोतले जानकारी दिएको छ । ती पाकिस्तानी नागरिक राजविराजस्थित एक होटलमा रहेको र उनीहरूलाई त्यहीँबाट फर्काइने सुरक्षा अधिकारीहरुले बताएका छन् । अन्य विभिन्न बाटो प्रयोग गरी सम्मेलनमा आएका विदेशी नागरिकहरू सबैलाई फर्काउने प्रहरी उपरिक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।