देश

मन्त्रीलाई कालोमोसे दल्ने चेतावनी

जनकपुरधाम, फागुन ३–राष्ट्रिय जनता पार्टीका एक नेताले प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई कालोमोसो दल्ने चेतावनी दिएका छन । राजपा धनुषा अध्यक्षमण्डलका सदस्य ज्ञानेन्द्र झा ‘ज्ञानु’ले फेसबुकमा स्टाटस लेख्दै मन्त्री साहलाई कालोमोसो दल्ने चतावनी दिएका हुन् । उनले फेसबुकमा लेखेका छन् ‘हिम्मत भए जनकपुरको कुनै कार्यक्रममा सहभागी भएर देखाउनुस्, कालोमोसे दल्छौं । हामी पनि आफ्नो औकात देखाइदिन्छौं ।’

नेता झा जस्तै धनुषाका अन्य केही युवानेता तथा कार्यकर्ताले पनि मन्त्री साहलाई कालोमोसो गर्ने चेतावनी समाजिक सञ्जालमा दिएका छन् । नेता झाले मन्त्री साहलाई पदबाट हटाउन पार्टी नेतृत्वसँग आग्रह गरेका छन् । यस विषयमा आज पार्टीका शीर्ष नेतृत्वलाई ज्ञापनपत्र बुझाउने र नहटाएसम्म संघर्षको कार्यक्रम गर्ने उनले बताए । मन्त्री साहले आफूसँग दुर्व्यवहार गरेको नेता झाले आरोप लगाएका छन् । मन्त्री साह पनि राजपाकै नेता हुन् ।