देश

धनगढी विमानस्थलमा हेल्थ डेस्क स्थापना

धनगढी, फागुन २–कोरोना भाइरसलाई लक्षित गरी धनगढी विमानस्थलमा हेल्थ डेस्क स्थापना गरिएको छ । कोरोना भाइरसको संक्रमण भित्रिन नदिन सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले हेल्थ डेस्कको स्थापना गरेको हो । विशेष गरी चीन तथा थाइल्याण्डलगायत मुलुकबाट स्वदेश फर्किने नागरिकलाई मध्यनजर गर्दै हेल्थ डेस्क स्थापना गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हेल्थ डेस्कमा दुई जना स्वास्थ्यकर्मी राखिएको छ । विमानस्थलमा कोरोना भाइरसका शंकास्पद व्यक्ति भेटिएमा तुरुन्त सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याएर उपचार गराइने र त्यसका लागि छुट्टै उपचार कक्षको समेत स्थापना भइसकेको मन्त्रालयले जनाएको छ । यसअघि कैलाली, कञ्चनपुरका विभिन्न सीमानाकामा हेल्थ डेस्क स्थापना गरिसकेको मन्त्रालयले जनाएको छ ।

Featured