देश

कुवतेमा बालुवाको ढिस्कोले पुरिए मृत्यु भएका ४ नेपालीको पहिचान खुल्यो

काठमाडौं, फागुन २–वैदेशिक रोजगारीका लागि कुवेत गएका ६ जना नेपालीको काम गर्ने ठाउँमा बालुवाढुंगाको ढिस्कोले पुरिएर मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । मुत्यु हुनेमा पाल्पाका एकबहादुर गाहा, सिरहाका गंगाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ र दाङका श्यामनारायण चौधरी रहेको नेपाली दूतावासले पुष्टि गरेको छ ।

दुई मृतकको पहिचान हुन बाँकी रहेको दूतावासले जनाएको छ । दुर्घटनामा परी धर्मेन्द्रकुमार शाह र मनोरथ मण्डल घाइते भएका छन् । घाइतेमध्ये शाहको कुवेतस्थित जाहरा अस्पतालमा उपचार भइरहेको र अर्का सामान्य घाइते मण्डल उपचारपश्चात् कम्पनीमा फर्केको दूतावासका श्रम काउन्सिलर ज्ञानेन्द्र शर्माले जानकारी दिए ।

दूतावासका अनुसार उनीहरू कुवेतस्थित युनिभर्सल लेडर्स ट्रेडिङ एण्ड जनरल कन्ट्रयाक्टिङ कम्पनीमार्फत अल मुट्ला सिटी प्रोजेक्टमा कार्यरत थिए । घटनास्थल दूतावासबाट करिब डेढ घन्टाको दूरीमा छ । घटनालगत्तै दूतावासका कर्मचारीले घाइते कामदारको उपचारमा सहजीकरण गरेका थिए ।