देश

विराटनगरका १४ वर्षीय किशोर ३ दिनदेखि बेपत्ता

विराटनगर, फागुन २–विराटनगर महानगरपालिका– ८, मधुमराका एक १४ वर्षीय किशोर ३ दिनदेखि सम्पर्क्विहीन भएका छन् । बुधबार बिहान ९ः३० बजे घरदेखि विद्यालय जान भनेर हिँडेको आफ्नो छोरो राजकिशोर शर्मा आफू पढ्ने आदर्श विद्यालयको गेटअगाडिबाटै हराएको आमा बिना शर्माले बताइन् ।

सो दिन राजकिशोर विद्यालयसमेत नगएको विद्यालयले बताएको उनकी आमा बिनाले बताइन् । राजकिशोर आदर्श माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी हुन् । उनले छोराको खोजीमा आफन्त तथा साथीभाइ सबैको घरमा पुगिसके पनि नभेटिएको बताइन् । शर्माले छोरालाई खोजी गरिदिन प्रहरी प्रशासनसमक्ष आग्रह गर्नुका साथै कसैले पनि कहीँ कतै देखेमा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन आग्रह गरेकी छन् ।