देश

२ वर्षमा सरकार असफल भएको विपक्षी नेताको दाबी

काठमाडौं, फागुन २–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको पूर्ण बहुमतप्राप्त सरकार २ वर्षमै असफल भएको विपक्षी दलका नेताहरूले दाबी गरे । समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि बनेको पहिलो पूर्ण बहुमतकोे सरकारले प्रशासनिक र सामाजिक क्षेत्रमा र दुई वर्षमा गुणात्मक महत्त्वको औँलामा गन्न सकिने एउटा पनि काम गर्न नसकेको दाबी गरे ।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री डा. भट्टराईले भने, ‘सरकारको यो दुई वर्ष पूर्ण निराशाजनक रह्यो । राजनीतिक क्षेत्रमा सुधार गर्न सकेन । संविधानसँग असन्तुष्ट पक्षको मागलाई सम्बोधन गर्न सकेन र राजनीतिक समझदारी मात्र बढाउने काम गर्यो ।’

उनले भ्रष्टाचार रोक्न र सुशासन कायम गर्न प्रक्रियामुखी प्रशासनलाई संरचनात्मक ढंगले बदलेर परिणाममुखी बनाउन नसकेको, भ्रष्टाचार नियन्त्रण गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री, प्रधानन्यायाधीश सबैलाई ओभरअल हेर्न सक्ने अधिकार दिन नसकेको गुनासो गरे ।