देश राजनीति

गिरिजाप्रसादले सदरमुकाम हान्न भन्नुभएको होइन:डा भट्टराई

काठमाडौं, फागुन २–पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले ‘सशस्त्र जनयुद्ध’को समयमा नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले सदरमुकाम आक्रमण गर्न भनेर कहिल्यै नभनेको दाबी गरेका छन् । तत्कालीन विद्रोही माओवादीका नेता भट्टराईले २०६२ सालको ६ मंसिरमा भएको १२ बुँदे समझदारीअनुसार आफूहरूले फौजी कारबाही गर्ने र संसदवादी दलले शान्तिपूर्ण आन्दोलन गर्ने सहमतिबमोजिम आ–आफ्नो क्षेत्रबाट शक्ति प्रदर्शन भने गरेको स्वीकारेका छन् ।

शुक्रबार संसद् भवन नयाँबानेश्वरमा संचारकर्मीसँग कुरा गर्दै भट्टराईले भने, ‘उहाँ (दाहाल) को सानो कुरालाई पनि बढाई चढाई गर्दिने र उत्तेजना फैलाउने स्वभाव छ । शुरूमा त हाम्रो तीव्र अन्तरविरोध र संघर्ष कांग्रेससँगै थियो । जुनबेला हामीले जनयुद्ध शुरू गर्याैँ, त्यसबेला कांग्रेस सरकारमा थियो ।’ उनले १२ बुँदे समझदारीपछि माघ २०६२ मा तत्कालीन राजा ज्ञानेन्द्रले नगरपालिका चुनावको घोषणा गरेपछि पुसको अन्तिमतिर आन्दोलन त्यति राम्रो हुन नसक्दा र माओवादीले युद्धविराम गरेका बेला कोइरालाले दबाब बढाउनुर्पयो भनेको दाबी गरे।

‘गिरिजाबाबुले भनेपछि हामीले फेरि युद्धविराम भंग गर्याैँ, उहाँले नगरपालिका निर्वाचनलाई बिथोल्न लौन ठोक्नुपर्याे भनेर एक पटक भन्नुभएको हो’, भट्टराईले भने, ‘अलिकति फौजी कारबाही बढाइदिनुपर्याे भनेर उहाँले भन्नुभएको कुरालाई पूरै जनयुद्धभरि नै गिरिजाप्रसादले भनेझैँ गरी उहाँले भनेको कुरामा सत्यता छैन ।’