देश

काभ्रेपलाञ्चोक ‘साक्षर’ जिल्ला

काभ्रेपलाञ्चोक, फागुन २–काभ्रेपलाञ्चोक ‘साक्षर’ जिल्ला भएको छ । जिल्लाका ६ नगरपालिका र ७ गाउँपालिका साक्षर घोषणा भइसकेका छन् । मण्डन देउपुर नगरपालिकाले विसं २०७५ साल १३ पुसमा ‘साक्षर नगर’ घोषणा गरेपछि स्थानीय तहले क्रमैसँग साक्षर घोषणा गरेअनुसार चौँरीदेउराली गाउँपालिकाले पनि बिहीबार साक्षर पालिका घोषणा गरेपछि ७ फागुनमा साक्षर जिल्ला घोषणाको तयारी गरिएको छ ।

समितिका संयोजक उद्धव केसीले ७ फागुनमा ‘साक्षर जिल्ला’ घोषणाको तयारी तीव्ररुपमा भइरहेको बताए । समितिका अनुसार जिल्लाका १५ देखि ६० उमेर समूहका ९६.४८ प्रतिशत जनसङ्ख्या साक्षर भएका हुन् । जसमध्ये एक लाख ९६ हजार १ सय ७४ पुरुष र एक लाख ७७ हजार ५५४ महिला साक्षर भएका हुन् । विसं २०६८ को जनगणनाअनुसार जिल्लामा तीन लाख ७३ हजार ७२८ जनसङ्ख्या रहेको छ ।

जनगणनाअनुसार तत्कालीन अवस्थामा २ लाख ९२ हजार १ सय ७९ जनसङ्ख्या साक्षर भएकोमा तत्पश्चातका वर्षमा निरक्षर जनसङ्ख्याका लागि सञ्चालन भएको सघन साक्षरता कार्यक्रमबाट आर्थिक वर्ष २०७६/७७ सम्म ३ लाख ६० हजार ५ सय ६० जनसङ्ख्या साक्षर भएको संयोजक केसीले जानकारी दिए ।