देश

एक दर्जन जिल्लाका एनसेल टावरमा विष्फोट र आगजनी

काठमाडौँ, साउन १६-अज्ञात समूहले देशभर एक दर्जन बढी जिल्लाका एनसेल टावरमा आगजनी र विष्फोट गराएको छ। कतिपय जिल्लाहरुमा आगजनीले गर्दा संचार सम्पर्क काटिएको छ  र सेवाग्राही मर्कामा परेका।

प्रहरीका अनुसार देशका विभिन्न्न जिल्लाहरु झापा, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, पूर्वी नवलपरासी, पर्वत, बाग्लुङ, म्याग्दी, कपिलवस्तु, डडेलधुरा, कैलाली, रुपन्देही जिल्लाका एनसेल टावरमा आगजनी र विष्फोट भएको छ। त्यस्तै, मोरङको उर्लाबारीमा रहेको एनसेल टावरमा पनि आगजनी भएको छ। यसैगरी अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ५ मैदानको अमजामा रहेको नेपाल टेलिकमको टावरमा पनि आगजनी भएको छ। गएराति करिब ८ बजे आगजनी भएको र सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ।

यी सबै आगजनी र विष्फोटका घटना बुधबार रातिदेखि बिहीबार बिहान ८ बजेको बीचमा भएका छन्। विष्फोट र आगजनी कसले गरायो भनेर एकीन भएको छैन, तर विप्लव समूहको संलग्नता रहेको अनुमान छ। विप्लव समूहले एनसेल र एनटीसीका टावरमा क्षति पुर्‍याउँदै आएको छ।