देश

अख्तियालाई सर्वोच्चको प्रश्न : बाबुराम भट्टराई र माधव नेपालविरुद्ध मुद्दा किन चलाइएन ?

काठमाडौं, फागुन २–बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा खरिदबिक्री प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधवकुमार नेपालविरुद्ध मुद्दा नचलाएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग जवाफ माग गरेको छ । शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासले १५ दिनभित्र लिखित जवाफ पेस गर्न अख्तियारलाई आदेश दिएको हो ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवासको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय भट्टराई र नेपालविरुद्ध उत्प्रेषणको आदेश माग गर्दै रिट हालेका थिए । उक्त रिट प्रधानन्यायधीश राणाको इजलासमा सुनुवाइका लागि पेशी चढाइएको थियो । पूर्वप्रधानमन्त्रीद्वयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उन्मुक्ति दिएको भन्दै वरिष्ठ अधिवक्ता न्यौपानले उनीहरूविरुद्ध पुनः मुद्दा चलाउन आदेश माग गर्दै बुधबार रिट दायर गरेका थिए ।

रिटमा वरिष्ठ अधिवक्ता न्यौपानले नीतिगत निर्णय भनेर सार्वजनिक जग्गा व्यक्तिको बनाउन नमिल्ने तर्क गर्दै भट्टराई र नेपालविरुद्ध पनि पुरक अभियोगपत्र दायर गर्न अन्तरिम आदेशको माग गरेका छन् । उनको रिटमा निर्णय गर्ने प्रधानमन्त्रीलाई उन्मुक्ति दिन नमिल्ने तर्क गरिएको छ ।