खेलकुद देश

विमल घर्ती मैदान फर्किंदै, लिगको अन्तिम खेलमा मच्छिन्द्रबाट खेल्ने

काठमाडौं, फागुन २–लामो समयको प्रतिबन्धपछि स्ट्राइकर विमल घर्तीमगर फुटबलमा फर्किने भएका छन् । उनले शहीद स्मारक ए डिभिजन लिगको अन्तिम खेलमा मच्छिन्द्रबाट नेपाल आर्मी क्लबविरुद्ध खेल्ने भएका हुन् । प्रशिक्षक प्रवेश कटुवालले पत्रकार सम्मेलन गरी विमलले आर्मीविरुद्ध खेल्ने जानकारी गराएका छन् ।

विश्वकप छनोट खेलका क्रममा भुटान जाने अघिल्लो रात डिस्कोमा गएपछि विमल घर्तीमगर, अन्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले निलम्बन गरेको थियो । निलम्बनकै कारण उनीहरूले नेपालमै आयोजित साग खेलकुदमा सहभागिता जनाउन पाएनन् ।

अंक तालिकामा आर्मी २९ अंकसहित शीर्ष स्थानमा छ भने मच्छिन्द्रको २८ अंक छ । लिगको अन्तिम खेलमा आर्मीले बराबरी गरे पुग्छ भने मच्छिन्द्र जित्नैपर्ने दबाबमा छ । लिगको अन्तिम खेल शनिबार दिउँसो साढे १ बजे हुनेछ ।

Featured