देश

कञ्चनपुरबाट विप्लव नेकपाका ३ विद्यार्थी नेता पक्राउ

डडेल्धुरा, फागुन १–कञ्चनपुरबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भ्रातृ संगठन अखिल क्रान्तिकारीका ३ नेता पक्राउ परेका छन् । उनीहरूलाई कञ्चनपुरको भीमदत्त नगरपालिका– १८, कटानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा अखिल क्रान्तिकारी भेरी कर्णाली क्षेत्रीय समन्वय समिति संयोजक वीरेन्द्र लुहार, अखिल क्रान्तिकारी कञ्चनपुरका जिल्ला सदस्य भरत लुहार र अर्जुन लुहार रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रवीन्द्र पौडेलले बताए ।

उनीहरूलाई सार्वजनिक शान्तिविरुद्धका क्रियाकलापमा सहभागी भएको आरोपमा नियन्त्रणमा लिइएको डीएसपी पौडेलले बताए । पक्राउ परेका तीनै जनाविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Featured