देश राजनीति

रेसम चौधरीलगायत ११ जनाको रिहाइको माग गर्दै अनशन

धनगढी, फागुन १–थरूहट थारूवान् राष्ट्रिय मोर्चाले विभिन्न १४ बुँदे माग राखेर आमरण अनशन थालेको छ । बिहीबार धनगढीमा एक कार्यक्रमको आयोजना गर्दै मोर्चाले आमरण अनशन थालेको हो । मोर्चाले शुक्रबारबाट विरोध प्रदर्शन गर्ने जनाएको छ । रेसम चौधरीलगायतका ११ जनालाई रिहाइ गर्नुपर्ने र टीकापुर घटनाको मुद्दालाई झुटा सावित गर्नुपर्ने मोर्चाको पहिलो माग छ ।

त्यस्तै, लाल आयोगको प्रतिवेदनसहितका १४ बुँदे माग सम्बोधनका लागि सरकारलाई दिएको अल्टिमेटम सकिएपछि आमरण अनशन थालिएको मोर्चाका संयोजक लक्ष्मण थारूले बताए । चौधरीकै नेतृत्वमा थालिएको आमरण अनशनपछि देशव्यापी प्रदर्शन र त्यति गर्दा पनि माग पूरा नभए ५ फागुनदेखि ३ दिन आमहडतालको घोषणा गर्ने मोर्चाको चेतावनी छ ।