देश

दिलिपको न्याय माग्दै प्रदर्शन, आधा घण्टा सडक अवरूद्ध

धनुषा, फागुन १–पर्यावरण अभियन्ता दिलिप महतोकोे न्यायको लागि माग गर्दै पूर्व–पश्चिम राजमार्गको ढल्केबरमा प्रदर्शन गर्दै आधा घण्टा चक्काजाम गरिएको छ । चुरे तथा वनजंगल संरक्षण अभियानकर्मीहरुले राजमार्ग अवरुद्ध गर्दै महतोलाई प्रथम राष्ट्रिय पर्यावरण सहिद घोषणा गर्न माग गर्दै प्रदर्शन गरिएको हो ।

सामाजिक अभियन्ता सरोज रायको विशेष उपस्थितिमा भएको प्रदर्शनमा सहभागीहरुले दिलिप महतोलाई पर्यावरण सहिद घोषणा गर्नुपर्ने लगायतका नाराहरुसहित सहभागीले प्रदर्शन गरेका छन् । विरोध र्याली ढल्केवर चोकको विभिन्न भागको परिक्रमा गर्दै पूर्व–पश्चिम महेन्द्र राजमार्ग आधा घण्टा अवरुद्ध गरेका छन् ।

कोण सभामा सामाजिक अभियन्ता सरोज राय, पिछ्डावर्ग समाज (ओबिसी)का केन्द्रीय अध्यक्ष रामकुमार महतो, तराई मधेश राष्ट्रिय परिषदकी सदस्य गुञ्जा राय, तराई मधेश चुरे संरक्षण अभियानका अध्यक्ष सुनिल यादवलगायतका वक्ताहरुले हराभरा तराई मधेशलाई सुख्खा ग्रस्त बनाउनका लागि केही उद्योगीहरुले अवैध तरिकाले क्रसर सञ्चालन गर्दै आएकाले त्यस्ता क्रसर सञ्चालकहरुलाई कारवाही गर्नु पर्नेमा जोड दिए ।

मिथिला नगरपालिका ५ श्रीपुरस्थित औरही खोलामा अवैध तरिकाले खोला उत्खन्न हुदै आएकोमा विरोध गर्ने २५ वर्षीय दिलिप भनिने ओमप्रकाश महतोलाई पुस २५ गते चुरियामाई बालुवा प्रशोधन केन्द्रमा कुटपिट गर्दै टिपरले किचेर हत्या गरेका थिए ।