देश

स्वास्थ्यकर्मी नै छैनन् कोरोना भाइरसबारे जानकार

बाँके, फागुन १–विश्वभर सन्त्रास फैलाइरहेको कोरोना भाइरस जाँचका लागि नेपाल–भारत सीमानाका जमुनाहामा ‘कोरोना हेल्थ हेस्क’ स्थापना भएको छ । कोरोना भाइरसको संक्रमण भित्रिन नदिन भारतबाट आउने नेपालीको स्वास्थ्य जाँचका लागि नाकामा हेल्थ डेस्क सञ्चालनमा छ । सटर भाडामा लिएर सञ्चालनमा ल्याइएको सो हेल्थ हेस्कमा हरेक दिन एक जना स्वास्थ्य जाँचका लागि खटिन्छन् । तर, कोरोना हेल्थ हेस्क हरेक दिन सुनसान हुने गरेको छ । स्वास्थ्य परीक्षणका लागि कोही नआएपछि स्वास्थ्य परीक्षणका लागि खटिएका स्वास्थ्यकर्मी कामविहीन हुने गरेका छन् ।

हेल्थ डेस्कलाई कोरोना भाइरस जाँच गर्ने जिम्मा पनि दिइएको छ । तर, हेल्थ डेस्कमा खटिने स्वास्थ्यकर्मी नै कोरोना भाइरसको बारेमा बेखबर छन् । हेल्थ डेस्कमा जाँचका लागि खटिएका स्थास्थ्यकर्मी नै अनभिज्ञ देखिएका छन् । कोरोना भाइरस नयाँ भएकाले राम्रो जानकारी नभएको हेल्थ डेस्कका प्रमुख हेल्थ असिस्टेन्ट देवीचन्द्र थापा बताउँछन् । उनले भने, ‘कोरोना भाइरस के हो भन्नेबारे म पनि जानकार छैन ।’ भाइरस पत्ता लगाउने विधि र आवश्यक उपकरणका बारेमा पनि आफूलाई जानकारी नभएको उनी बताउँछन् । थापाले भने, ‘नयाँ रोग भएकाले के कसरी सर्छ र देखिने लक्षणका बारेमा धेरै स्थास्थ्यकर्मीलाई जानकारी नै छैन ।’

कोरोना भाइरस नयाँ भएकाले यो रोगका बारेमा स्वास्थ्यकर्मीलाई अनुशिक्षण दिनुपर्ने उहाँको भनाइ छ । उनका अनुसार कोरोना भाइरसको जाँच गर्नुस् भनेर निर्देशन दिँदैमा हुँदैन, नयाँ रोगको बारेमा स्वास्थ्यकर्मीलाई तालीम दिए मात्र सेवा प्रभावकारी बन्न सक्छ । हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीसँग कोरोना भाइरस जाँच गर्ने प्रभावकारी उपकरणसमेत छैनन् ।(रासस)

Featured