विदेश

हिमपहिरोमा परी ७ जनाको मृत्यु

एजेन्सी, फागुन १–अफगानिस्तानको दायकुन्डीकोे एक गाउँमा आएको हिमपहिरोमा परी एकै परिवारका ४ सदस्यको मृत्यु भएको छ । यस हिमपहिरोमा परी घाइते भएका सोही परिवारका अन्य १ जनालाई उद्धार गरिएको छ । त्यस पहिरोमा परी २ जना बेपत्ता भएको प्रान्तीय सरकारका प्रवक्ताले बिहीबार जानकारी दिए ।

दुर्गम स्थानमा रहेको मिरामुर जिल्लाको हेसर गाउँमा यो घटना भएको बताइएको छ । बुधबार अबेर राति घर हिमपहिरोले पुरिएपछि एक परिवार प्रभावित भएको सरकारका प्रवक्ता सकिना एहसानीले बताइन् । स्थानीय गाउँलेहरूले ४ जनाको शव भेट्टाएको र यसै परिवारका १ सदस्य घाइते भएका र उनलाई उद्धार गरेको तथा अझै २ जना बेपत्ता रहेका प्रवक्ताको भनाइ छ ।

अफगानिस्तानको राजधानी काबुलबाट २ सय ९० किलोमिटर पश्चिममा रहेको सो प्रान्तमा बुधबारको हिमपहिरोमा परी ४ जनाको मृत्यु भएको तथा सोही दिन छिमेकमा पर्ने प्रान्तमा अन्य ३ जनाको मृत्यु भएपछि यो सङ्ख्या ७ पुगेको छ ।

Featured