देश

ललितपुरका ६ हजार निजी आवास अझै पुनःनिर्माण हुन सकेनन्

ललितपुर, फागुन १–भूकम्प गएको ४ वर्ष बितिसक्दा पनि ललितपुर महानगरपालिकाभित्रका ६ हजारभन्दा बढी निजी आवास अझै पुनःनिर्माण हुन सकेका छैनन् । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालद्वारा बुधबार आयोजित ‘भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार निजीक्षेत्रको योगदान र भूमिका’ विषयक कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन एकाइ भवनका भवन आयोजना प्रमुख चन्द्रकाजी गुरुङले महानगरपालिकाभित्र कुल ७ हजार ४ सय ९ लाभग्राही पहिचान भएको जानकारी दिए ।

महानगरपालिकाभित्र अझै ६ हजार बढी निजी घर पुनःनिर्माण हुन नसकेकामा गुरुङले खेद व्यक्त गरे । महानगरपालिकाभित्र निजीक्षेत्रले विभिन्न ठाउँमा घर बनाइदिए पनि सही कागजी लेख सङ्कलन गर्न अझै समस्या भइरहेको गुरुङले जानकारी दिए । कार्यक्रममा न्यू सूर्य इन्टरप्राइजेजका प्रतिनिधि चीन महर्जनले महानगरपालिकाभित्र एकीकृत बस्तीको योजना अघि बढाउँदा प्रभावकारी रहने बताए ।

सरकारले व्यक्तिको समस्याको पहिचान गरी कागजी प्रक्रियाबाट निजी घर बनाउन सहयोग गरिदिँदा निकै काम अघि बढ्ने महर्जनले बताए । टीआई नेपालका कोषाध्यक्ष किरण थापाले भूकम्प प्रभावित मुख्य जिल्लामा पहिलेनै युनिट खडा गरी काम अघि बढाएको भए हालसम्म सबै स्थानका निजी आवास पुनःनिर्माणको काम सम्पन्न भइसक्ने विचार व्यक्त गरे । रासस

Featured