विदेश

कोरोनाबाट एकैदिन २४२ को मृत्यु, १५ हजारमा नयाँ संक्रमण

एजेन्सी, फागुन १–कोरोना भाइरसबाट बुधबार एकैदिन २४२ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ३६८ पुगेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले औपचारिक नाम कोभिड–१९ नाम दिएको नोवेल कोरोना भाइरसका कारण एकै दिन यति धेरैले ज्यान गुमाएको यो पहिलो घटना हो । यसअघि एकै दिन सोमबार १०३ जना र आइतबार ९७ जनाको मृत्यु भएको थियो ।

कोरोना संक्रमण पनि ठूलो संख्यामा बढेको छ । बुधबारमात्रै १४ हजार ८४० जना भन्दामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । यसअघि चीनको राष्ट्रिय स्वाथ्य संगठनले मंगलबार नयाँ संक्रमणको दर २० प्रतिशतले घटेको बताएको थियो । तर बुधबार हुबेइमा मृत्यु र थप संक्रमणको भयाबह तथ्य बाहिर आएको हो । कोरोना भाइरसका कारण हालसम्म १ हजार ३६८ जनाको मृत्यु भइसकेको छ भने ६० हजार ३२८ जनामा संक्रमण देखिएको छ । ५ हजार ९९५ जना संक्रमितहरु उपचारपछि संक्रमणमुक्त भएका छन् ।

Featured