देश

म्याग्दीको पश्चिम क्षेत्रमा सात पक्की पुल बन्दै

म्याग्दी, माघ २९–म्याग्दीको पश्चिम क्षेत्रमा पर्ने म्याग्दी खोला भेगमा पक्की पुल निर्माणले तीव्रता पाएको छ । ग्रामीण बस्ती र स्थानीय तहहरुको केन्द्र जोड्ने गरी संघीय र प्रदेश सरकारले सात स्थानमा मोटरेबल पुल निर्माण गर्न थालेका हुन् । केही वर्ष्भित्र ती स्थानमा पक्की पुल निर्माण भई बस्तीहरु सडक सञ्जालसँग सिधा जोडिनेछन् ।

संघीय सरकारअन्तर्गत रहेको सडक डिभिजन कार्यालय बागलुङले म्याग्दी खोलामा दुई पक्की पुल निर्माण गर्दैछ भने प्रदेशअन्तर्गत रहेको भौतिक पूर्वाधार विकास कार्यालय म्याग्दीद्वारा पाँच स्थानमा पुल निर्माण हुनेछन् । बेनी नगरपालिका–४ सिंगादेखि मंगला गाउँपालिका–३ वरङ्जालाई जोड्ने गरी निर्माण गर्न लागिएको पुलले वरङ्जाको बस्तीलाई सडक सञ्जालसँग जोड्ने छ ।

एक वर्षअघि सडक डिभिजन कार्यालय बागलुङले ठेक्कामार्फत निर्माण थालेको उक्त पुलको अहिलेसम्म ४५ प्रतिशत भौतिक प्रगति भएको छ । कूल लागत रु १० करोड ७२ लाख १२ हजार ४०३ मा लुम्बिनी प्राकृतिक जेभीसँग विसं २०७७ जेठ २५ मा सक्ने गरी २०७५ जेठ २५ मा ठेक्का सम्भौता भएको सडक डिभिजन कार्यालय बागलुङका इञ्जिनीयर तथा सूचना अधिकारी मुकुन्दप्रसाद लामिछानेले जानकारी दिए ।(रासस)