NRNA खबर देश विदेश साहित्य

रसियाली जनमैत्री विश्वविद्यालयमा नेपालविषयक चित्रकला प्रदर्शनी

मस्को, माघ २७–रसियाली जनमैत्री विश्वद्यालयमा नेपाल विषयक चित्रकला प्रदर्शनी गरिएको छ । रुस स्थित रसियाली जनमैत्री विश्वविद्यालय स्थापनाको हीरक जयन्ती तथा नेपाल पर्यटन वर्ष २०२० अवसरमा रूस–नेपाल सहयोग तथा मैत्री समाजद्वारा नेपाली छात्रसंघ (रसियाली जनमैत्री विश्वविद्यालय) को समेत सहभागितामा गत ७ फेब्रुअरीमा नेपालविषयक चित्रकला प्रदर्शनी गरिएको हो ।

विश्वविद्यालयको स्थापनाको ६० औँ बार्षिक उत्सवका अवसरमा आयोजित समारोहमा भाग लिन मित्रकुञ्जका अध्यक्ष ध्रुव महर्जनको नेतृत्वमा मास्को पुगेको पाँचसदस्यीय प्रमण्डललाई कार्यक्रममा स्वागत गरिएको थियो । रूसी एवम् नेपाली संस्थाहरूको तर्फबाट हालसालै रूसी भाषामा प्रकाशित केही पुस्तकहरू विश्वविद्यालयको पुस्तकालयलाई हस्तान्तरण गर्नका लागि विश्वविद्यालयको मूल भवनको केन्द्रीय प्राङ्गणमा सो कार्यक्रम आयोजना गरिएको थियो । सो अवरमा रूसी चित्रकार लिलिया स्लाभिन्स्कायाद्वारा बनाइएका नेपाली दृश्यावलीहरू चित्रित कलाकृतिहरू प्रदर्शनीका लागि राखिएको थियो ।

प्रदर्शनीमा नेपाली विद्यार्थीहरु नेपाली पोशाकमा सजिएका थिए । प्रदर्शनीको उद्घाटनमा नेपाली छात्रसंघका अध्यक्ष प्रवल प्रधानले समारोहमा उपस्थित अतिथिहरूको स्वागत गर्दै कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा विश्वविद्यालयका उपकुलपति भ्लादिमिर एर्माकोभले संसारका छवटै महाद्वीपका १६७ देशका युवायुवतीहरूले विभिन्न विषयमा उच्च शिक्षा हासिल गरिरहेको रसियाली जनमैत्री विश्वविद्यालयलाई ‘सानो संयुक्त राष्ट्रसंघ’ को रुपमा व्याख्या गरे । उनले सो विश्वविद्यालयबाट स्नातक उतिर्ण नेपाललगायत विभिन्न देशका प्रतिनिधिहरू आफुले शिक्षा आर्जन गरेको विश्वविद्यालयको ५० औँ वार्षिकोत्सवमा भाग लिन मास्को आइपुगेको बताए ।

उनले हाल सो विश्वविद्यालयमा नेपालका ३३ जना विद्यार्थीहरुले अध्ययन गरिरहेको जानकारी दिए । कार्यक्रममा रूसका लागि नेपाली राजदुत ऋषिराम घिमिरेले विश्वविद्यालयको वार्षिकोत्सवका अवसरमा शुभकामना व्यक्त गरे । उनले नेपाल भ्रमण वर्ष २०२०’ को समेत सन्दर्भ पारेर नेपाल विषयक चित्रकला प्रदर्शनीको समेत आयोजना गरि भ्रमण वर्षलाई सफल पार्न टेवा पुर्याएकोमा आभार प्रकट गरे । उनले नेपालको यात्रा गरी चित्रसमेत बनाउने रूसी चित्रकार, उपकुलपतिलगायत सबैप्रती आभार प्रकट गरे ।

राजदुत घिमिरेले नेपालका पर्यटकीय गन्तव्यहरूको प्राकृतिक र सांस्कृतिक महत्वबारे चर्चा गर्दै बुद्धको जन्मस्थल लुम्बिनीमा निकट भविष्यमै रूसी बौद्धविहार पनि अस्तित्वमा आउने आशा व्यक्त गरे । उनले कार्यक्रमका लागि रूस–नेपाल मैत्री समाजको सराहना गर्दै उपस्थित सबैलाई अनुकूल समय मिलाएर नेपालको भ्रमण गर्न आग्रह गरे । कार्यक्रममा रूसी चित्रकलाकार लिलिया स्लाभिन्स्कायाले सन् २०१२ देखि वेलावेलामा नेपालको मुस्ताङलगायत विभिन्न स्थानमा पुगेर प्राकृतिक दृश्यको छविचित्रका साथै नेपाली धरातल, सांस्कृतिक र शिल्पकलाका वस्तुहरू समेत चित्रकलाका माध्यामबाट उतार्ने गरेको बताए । उनले पृथ्वीका उत्तरी ध्रुवप्रदेश, दक्षिणी ध्रुवप्रदेश र हिमालयका पर्वतश्रृंखलाको दृश्यावलोकन एवम् चित्रलेखनमा आफ्नो विशेष अभिरुची भएको तथा भविष्यमा आफूले तयार पारेका नेपालविषयक सम्पूर्ण चित्रहरूको प्रदर्शनी आयोजना गर्ने पनि चाहना रहेको जानकारी दिए ।

काठमाडौं विश्वविद्यालयका संस्थापक मध्येका एक समेत रहेका मित्रकुञ्जका संरक्षक प्रा.डा. भद्रमान तुलाधरले आफुले उच्च शिक्षा हासिल गरेको रसियाली जनमैत्री विश्वविद्यालयका वर्तमान कुलपति भ्लादिमिर फिलिप्पोभ आफ्नै सहपाठी भएको बताउँदै जहिले पनि मास्को आउने अवसरको उपयोग गर्दै आएको बताए । सन् १९६३ मा स्थापित सोभियत–नेपाल मैत्री समाजको उत्तराधिकारी रूस–नेपाल सहयोग तथा मैत्री समाजका अध्यक्ष मिखाइल नेक्रासोभले दुई देशबीच जनस्तरबाट मैत्री विकासमा योगदान पुर्याउँदै आइरहेको बताए ।

उनले संस्थाको ६० औँ वाषिर्कोत्सव पनि निकट रहेको बताउँदै नेपालमा आफ्नो एक भातृसंस्था मित्रकुञ्जका अध्यक्ष ई.ध्रुव महर्जनसहित डा. भद्रमान तुलाधर, डा. लोचनदेवी मानन्धर, डा. ऋषिकुमार काफ्ले, ई. सन्तोषकुमार पोखरेललाई मास्कोमा भेट्न पाउँदा हर्षीत भएको बताए । उनले चित्रकलाकार लिलिया स्लाभिन्स्कायालाई नेपाल विषयक कला प्रदर्शनीको आयोजनाका लागि कृतज्ञता–ज्ञापनपत्र प्रदान गर्दै प्रदर्शनीको उद्घाटनमा उपस्थित अतिथिहरू सबैलाई ब्याच र खादा लगाइदिएर स्वागत गरे ।

कार्यक्रममा मित्रकुञ्जका अध्यक्ष ई. ध्रुव महर्जनले रसियाली जनमैत्री विश्वविद्यालयको वर्षिकोत्सवमा भाग लिन आएका पाँचसदस्यीय प्रतिनिधिमण्डलका सदस्यहरूको परिचय दिंदै रूस–नेपाल सहयोग तथा मैत्री समाजका उपाध्यक्ष एवम् छविचित्रकार बोरिस भेर्शिनिनलाई मित्रकुञ्जको तर्फबाट प्रदान गरिएको सम्मानपत्र हस्तान्तरण गरे । उक्त अवसरमा साहित्यकार कृष्णप्रकाश श्रेष्ठले रूसमा जनमैत्री विश्वविद्यालयको स्थापनाबारे घोषणा भएको तीन हप्तापहिले आफु मास्को राजकीय विश्वविद्यालयमा अध्ययनका लागि सोभियत संघ आइपुगेको स्मरण गरे ।


उनले तत्कालिन सामयमा लुकीछिपी राजनैतिक अर्थशास्त्रको व्याख्यान समेत सुन्ने गरेको र सो विश्वविद्यालयका पूर्वकुलपति भ्लादिमिर स्तानिस आफ्ना एक रूसी गुरु बन्न पुगेको स्मरण गरे । उनले आफूले उक्त विश्वविद्यालयमा अध्ययन नगरेपनि १० वर्षपहिले मनाइएको स्वर्णजयन्ती समारोहलगायत सबैजसो वार्षिकोत्सवमा सहभागी बन्दै आएको र पहिलो वाषिर्कोत्सवको समारोहमा नेपालका भिक्षु अमृतानन्द पनि बंगालमै हुँदा गेरु वस्त्रधारी हुनाले मन्चमा बोलाउने सम्भावना देखेर ‘बुद्धको जन्मस्थल भारत होइन, नेपाल हो’ भन्न नबिर्सन अनुरोध गरेअनुसार नेपालका भिक्षुले आफ्नो वक्तव्यमा अंग्रेजी भाषामा यो सूचना प्रवाह गरेपछि रूसी पुस्तकहरूमा बुद्ध नेपालमा जन्मेको कुरा लेख्न थालेको जानकारी दिए ।

उनले हालै प्राच्यविद्या संस्थानबाट रूसी भाषामा प्रकाशित आफ्नो पुस्तक ‘नेपालका पुराकथा र किम्बदन्ती’ उनीद्वारा अनुवाद र सम्पादन गरिएको रूसी भाषामा प्रकाशित ‘नेपाली साहित्य संगम’, ‘नेपाली कविता कुञ्ज’, ‘स्रष्टा र साहित्य’ लगायतका पुस्तकहरू विश्वविद्यालयको वैज्ञानिक पुस्तकालयकी प्रमुख एलेना युर्येभ्नालाई हस्तान्तरण गेका थिए ।

जनमैत्री विश्वविद्यालयका न्यायशास्त्र संकायका प्रमुखसम्म बनेका भालेरी बेलोभले विश्वविद्यालयका दिवंगत कुलपति भ्लादिमिर स्तानिसको साथमा काठमाडौं गई तत्कालीन राजा वीरेन्द्रलाई मानार्थ महाविद्यावारिधिको उपाधि प्रदान गरिएको स्मरण गरे । उनले धेरै नेपाली विद्यार्थीले सो विश्वविद्यालयबाट दक्ष विशेषज्ञताको डिग्री प्राप्तगरि नेपालको विकासकार्यमा योदान पुर्याइरहेको बताए ।

सो अवसरमा नेपाली सारीमा सजिएकी पर्यटनको क्षेत्रमा कार्यरत रूसी युवती एलेना गोर्शकोभाले नेपालको कैयौं पटक यात्रा गरिसकेको बताउँदै संक्षेपमा नेपालका रमणीय, दर्शनीय स्थलहरूको यात्रा अनुनुभव, नेपालीहरूको आतिथ्यसत्कार र मिलनसारिताको विषयमा चर्चा गरेकी थिइन् । नेपाली छात्रसंघका अध्यक्ष प्रवल प्रधानबाट अतिथिहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै रसियाली जनमैत्री विश्वविद्यालयको ६० वर्षप्रति समर्पित चित्रकलाप्रदर्शनीको उदघाटन् समारोहको समापन भएपछी प्रदर्शनीमा राखिएका चित्रहरू सवैले अवलोकन गरेका थिए ।

Featured