विदेश

‘ट्रिपल तलाक’ लाई अपराध मान्ने कानुन पारित

नयाँ दिल्ली, एजेन्सी, साउन १५-भारतका मुस्लिम पुरूषले आफ्नी श्रीमतीलाई तीन पटक तलाक भनेर सम्बन्धविच्छेद गरे अपराध ठहर हुने कानुनलाई पारित गरेको छ। भारतको माथिल्लो सदन राज्यसभाले मंगलबार ट्रिपल तलाकसम्बन्धी कानुन पारित गरेको हो। अब कुनै पुरूषले ट्रिपल तलाक भनेर सम्बन्धविच्छेद गरेको खण्डमा उक्त व्यक्तिलाइ तीन वर्षसम्म जेल सजाय हुनेछ।

‘एउटा पुरातन र मध्यकालीन अभ्यासलाई अन्तत: इतिहासको फोहोर टोकरीमा फालिएको छ,’ विधेयक पारित भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने,‘संसदले ट्रिपल तलाकलाई उन्मुलन गरेर मुस्लिम महिलामाथि भएको ऐतिहासिक गल्तीलाई  सच्याएको छ। यो लैंगिक न्यायको जित हो यसले समाजमा समानता बढाउनेछ।’

भारतका मुस्लिम पुरूषले आफ्नी श्रीमतीलाई जस्तो बेलामा अनि जुनसुकै माध्यम  बाट तीन पटक तलाक भनेर सम्बन्धविच्छेद  गर्ने चलन थियो। इजिप्ट, युएई, पाकिस्तान, बंगलादेशलगायत मुस्लिम देशहरूले यो चलनमा प्रतिबन्ध लगाइसकेता पनि भारतमा भने यो चलन कायम नै रहेको थियो।

भारतमा रहेका केही मुस्लिम अतिबादी संघ संस्थाहरूले भने ट्रिपल तलाक कानुनको विरोध गरेका छन्। सम्बन्धविच्छेदलाई कानुनले अपराध मान्नु अनौठो भएको उनीहरूको तर्क छ।

सन् २०१७ मा भारतको सर्वोच्च अदालतले ट्रिपल तलाकलाई असंवैधानिक भएको फैसला गरेको थियो।

Featured