देश

आज साउन १५ अर्थात खिर खाने दिन, यस्ता छन् खिर खानुका फाइदाहरु

काठमाडौं, साउन १५-नेपालको किम्बदन्ती अनुसार असार १५ मा दहीच्युरा खाएको एक महिनापछि साउन १५ मा सबैले खिर खाने गर्दछ। परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मूल्य र मान्यता नेपाली समाजमा रही आएको छ। खिर सम्झँदा नै सबैको जिब्रो रसाइहाल्ने खाद्य पदार्थमा गनिँदै आएको छ। बुधबार मुलुकभर खिर खाएर साउन १५ मनाइँदै छ।

साउन १५ मा खिर खानु सांस्कृतिक मात्रै नभई वैज्ञानिक महत्व पनि रहेको हुन्छ।

आयुर्वेद चिकित्सा अनुसार वर्षात्को समय तथा गर्मी महिना भएकाले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने हुनाले रोग प्रतिरोधात्मक शक्ति बढाउनुपर्ने हुन्छ। त्यसैले चामल, दूध, नरिबल, छोकडा, अन्य ड्राई फ्रुट्स र चिनी हालेर खिर बनाउने हाम्रो समाजमा चलन चली आएको छ। आयुर्वेद चिकित्सा अनुसार चामलमा कार्बाेहाइड्रेट पाइन्छ।

खिरमा हालिने अन्य सामग्रीले भिटामिन र मिनरल्सको आपूर्ति गर्छ, त्यसैले थोरै खाएर धेरै पोषण प्राप्त गर्ने खानेकुरामा पर्दछ खिर। लामो समय आफ्नो स्वास्थ्य यथास्थितिमा राख्नुपर्ने समयमा खिरको सेवन राम्रो मानिन्छ। साउन महिनाभर खिर खानु राम्रो हुने विश्वास पश्चिम नेपालमा छ।

नेपाल एक कृषिप्रधान देश भएको र बहुसङ्ख्यक नेपाली कृषि पेसामा आश्रित भएकाले कृषकले धान रोपेर काम सकेपछि खुसियाली स्वरूप खिर खाने परम्परा विकास भएको संस्कृतिविद् डा. सत्यमोहन जोशीले जानकारी दिए।

Featured