NRNA खबर देश विदेश

नर्वेको राजधानी ओस्लोमा ‘भिजिट नेपाल २०२० साँझ’ सम्पन्न

ओस्लो, माघ २६–नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि नर्वेको राजधानी ओस्लोमा ‘भिजिट नेपाल २०२० साँझ’ आयोजना गरिएको छ । गत फेब्रुअरी ७ तारिख साँझ ओस्लोमा भिजिट नेपाल २०२० सचिवालय काठमाडौं, नेपाली दुतावास डेनमार्क र गैर आवासीय नेपाली संघ (एनआरएनए) एनसीसी नर्वेको सहकार्यमा आयोजना गरिएको ‘भिजिट नेपाल २०२० साँझ’ भव्यताका साथ सम्पन्न भएको हो ।

कार्यक्रममा भिजिट नेपाल २०२० को प्रचारप्रसारमा सक्रिय नेपाली, नर्वेमा रहेका विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि तथा विभिन्न समयमा नेपालको विभिन्न क्षेत्रमा योगदान पुर्याएका नर्वेली नागरिकहरुलाई आमन्त्रण गरिएको थियो । नर्वेमा भिजिट नेपाल २०२० तथा करिब ५० वर्ष अघिको नेपालको तस्विरहरुको प्रदर्शनीसहित राखिएको कार्यक्रमको नोर्डिक देशहरुका लागि नेपालका राजदुत युवानाथ लम्सालले औपचारिकरुपमा उद्घाटन गरेका थिए ।

यस अघि एनआरएनए एनसीसी नर्वे, रागोस नर्वेले विभिन्न कार्यक्रमहरु आयोजना गरि नेपाल भ्रमण वर्ष २०२० प्रचारप्रसार गरेका थिए । कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै एनआरएनए एनसीसी नर्वेका अध्यक्ष नयन मल्लले प्रचारप्रसारको कार्यक्रम वर्षभरि नै सक्रिय रुपमा गरिने बताए ।

नेपाल भ्रमण वर्ष २०२० सचिवालय काठमाडौंका कार्यक्रम प्रवन्धक रोहिणी प्रसाद खनालले सन् २०२० भरि नेपालको विभिन्न ठाउँमा आयोजना गरिन लागिएका कार्यक्रमहरुको बारेमा संक्षिप्त प्रस्तुतिकरण गरेका थिए । खनालले भ्रमण वर्ष २०२० भरि नेपालस्थित ट्रेकिङ एजेन्सी, होटेल तथा रेस्टुराँ व्यवसायी तथा विभिन्न संघ संस्थाले १० देखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको जानकारी दिए ।

सन् १९७५ देखि करिब एक दशक नेपाल बसेकी आना होलानले नेपालीमा सम्बोधन गर्दा कार्यक्रममा सहभागी सबैको ध्यान खिचेकि थिइन । उनले ७० को दशकको नेपाली समाज र संस्कृति, त्यति बेला काठमान्डु भीमसेनस्थानमा अवस्थित चित्रकार परिवारको लोकप्रिय फोटो स्टुडियो, प्रदर्शनीमा राखिएका विभिन्न तस्विरहरुको बारेमा कार्यक्रममा उपस्थित सबैलाई जानकारी गराएकी थिइन् ।

त्यस्तै ८० को दशकमा नेपाली आकाशमा जहाज उडाएका पाइलट स्टाइन आर्ने फोस्सुमले जहाजबाट देखिने नेपालको मनोरम दृश्यको वर्णन गरेका थिए । उनी तत्कालिन समयमा नेपालमा धेरै जहाज दुर्घटना भएपछि नेपालको हवाई यात्रा कसरि सुरक्षित बनाउन सकिन्छ भनि अध्ययन गर्न तथा नेपालमा उडान भर्ने पाइलटलाई तालिम दिनका लागि संयुक्त राष्ट्र संघको तर्फबाट नेपालमा खटिएका थिए ।

त्यस्तै विभिन्न समयमा ६ पटकसम्म नेपाल पुगेका दाग नोर्लिले कार्यक्रममा नेपाल भ्रमण गर्दाको आफ्नो अनुभव सुनाएका थिए । नेपालका हिमाली भेगहरुमा नोर्लिले गरेको पदयात्रा देखि ग्रामिण भेगमा मन्दिर जिर्णोद्वारमा गरेको सहयोगका तस्विर देखाउँदै उनले भ्रमणसँगै उत्तरदायी पर्यटक पनि बन्न सकिने सन्देश दिएका थिए ।

नोर्गे नेपाल फोरेनिंगेनको २ कार्यकाल नेतृत्व सम्हालेका तथा सोहि संस्थाले प्रकाशन गर्ने हाम्रो पत्रिकाको पूर्वसम्पादक नोर्लि पहिलो पटक सन् १९८३ मा नेपाल पुगेका थिए । लामो समयदेखि नर्वेमा अध्यापन गराउदै आएका प्राध्यापक डा.विशाल सिटौलाले नेपाल भ्रमणको एउटा महत्वपुर्ण कारण अध्यात्म, ध्यान र योग पनि रहेको बताए ।

नोर्डिक देशहरुका लागि नेपालका राजदुत लम्सालले नेपालमा राजनीतिक स्थिरतासँगै आएको परिवर्तनले दुई देशबीचको मित्रता प्रगाढ बन्नुका साथै अध्यागमन लगायत सबै क्षेत्रमा नेपाल भ्रमण गर्नका लागि सहज हुँदै गएको बताए । उनले वातावरण मैत्री तथा दिगो पर्यटनमा जोड दिँदै औपचारिक कार्यक्रमको समापन गरेका दिए ।

ओस्लोस्थित ब्रुकेटमा आयोजित कार्यक्रममा बारा, सेलरोटी लगायतका नेपाली परिकारहरु चाख्न पाउँदा पाहुनाहरु हर्षित देखिन्थे । कार्यक्रममा उपस्थित सबै विदेशी पाहुनाहरुलाई भिजिट नेपाल २०२० को ढाकाको खादाले स्वागत गर्दै नेपालको पर्यटन गन्तव्य सुचिकृत नक्शा, आकर्षक वाल्पपेर, पोस्टकार्ड, नमस्ते नेपालको चेस्टब्याज, २०२० भरि नेपालमा आयोजना हुने विभिन्न कार्यक्रमहरुको बारेमा जानकारी समेटिएको पुस्तिका उपहार दिइएको थियो ।

कार्यक्रममा नेपाली कलाकारहरुले नेपालको संस्कृति झल्किने विभिन्न प्रस्तुति दिएका थिए । प्रकाश, स्मिता, र बिनाले नृत्यमा, संस्कृतिले तबलामा, सुरेन्द्रले बाँसुरीमा, सारंगीमा केशब, मादल तथा गायनमा प्रसिद्ध लोक गायक बिन खातीले विभिन्न प्रस्तुति दिएका थिए । पन्चेबाजाको प्रस्तुतिसँगै कार्यक्रम भव्यरुपले सम्पन्न भएका थियो ।

Featured