देश सूचना/ प्रबिधि

पत्रकारलाई लाइसेन्सको व्यवस्था हटाउँदै मिडिया काउन्सिल विधेयक पारित

काठमाडौं, माघ २३–पत्रकारले लाइसेन्सका लागि परीक्षा दिनु नपर्ने व्यवस्था गर्दै ‘नेपाल मिडिया काउन्सिल विधेयक २०७६’ राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ । बिहीबारको राष्ट्रियसभा बैठकले पत्रकारले परीक्षा दिनु नपर्ने व्यवस्था गर्दै नेपाल मिडिया काउन्सिल विधेयक २०७६ संशोधनसहित सर्वसम्मतिबाट पारित गरेको हो ।

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट प्रस्ताव भएको पत्रकारहरूले लाइसेन्स लिनुपर्ने व्यवस्था हटाउन माग गर्दै राष्ट्रियसभामा सांसद खिमलाल भट्टराईले प्रस्ताव गरेका थिए । विधायन व्यवस्थापन समितिको प्रतिवेदनको क्रमसंख्या ५ को खण्ड ‘य’ मा रहेको पत्रकारको रूपमा काम गर्न चाहनेका लागि परीक्षा गर्ने व्यवस्था र क्रमसंख्या १५ मा रहेको पत्रकारको लाइसेन्ससम्बन्धी परीक्षा, दर्ता तथा अभिलेखसम्बन्धी व्यवस्था हटाउन सांसद भट्टराईले गरेको प्रस्तावमा अधिकांश सांसदहरूले सहमति जनाएका थिए ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटासमेत उक्त संशोधन प्रस्तावमा सकारात्मक भएपछि लाइसेन्स लिनुपर्ने व्यवस्था हटाउँदै विधेयक पारित भएको हो । समितिमा लाइसेन्स परीक्षा लिने व्यवस्था गर्नुपर्ने संशोधन राखेका सांसद ठगेन्द्रप्रकाश पुरीले भने परीक्षा लिने व्यवस्था हटाउने प्रावधानले शरीर, आत्मा र अनुहार लिएर सदनमा प्रवेश गरेको भए पनि शरीर र आत्मामा कायम राखेर अनुहार पूरै परिवर्तन भएको भन्दै व्यंग्य गरे ।