देश सूचना/ प्रबिधि

पहुँच विस्तारसँगै गुणस्तर सुधार्न टेलिकमलाई निर्देशन

काठमाडौं, माघ २२ सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पहुँचको विस्तारसँगै गुणस्तर सुधारमा लाग्न नेपाल टेलिकमको व्यवस्थापन र कर्मचारीलाई निर्देशन दिएका छन् । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को १६औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले प्रतिस्पर्धा र नयाँ चुनौतीलाई स्वीकारेर जनताको सेवामा समर्पित हुन आग्रह गरे ।

मन्त्री बाँस्कोटाले गत वर्ष देशभर फोरजी सेवा पु¥याउने संकल्प गर्दा नपत्याइए पनि हाल देशभर सो सेवा पुगेकामा खुसी व्यक्त गर्दै कम्पनीको स्वस्थ्य जीवनका निम्ति इमानदार भएर आफ्नो सम्पूर्ण क्षमता देशका लागि प्रयोग गर्न आग्रह गरे । वार्षिकोत्सवस्थलमा कम्पनीमा क्रियाशील एक कर्मचारी युनियनले विरोध जनाएकोमा असन्तोष व्यक्त गर्दै मन्त्री बाँस्कोटाले प्रश्न गर्दै भने, ‘आमाको जन्मदिनका दिन मंगलधुन बजाउने कि शोकधुन बजाउने ? यो त गाईजात्रा देखियो । पञ्चायतको टालोजस्तो पहेँलो टालो बाँधेर विरोध गरिनु कुनै बहादुरी होइन, निराशाको सन्देश हो ।’रासस