देश

बैकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, १४-बैकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी भक्तपुर सूर्यविनायक नगरपालिका-२ बालकोट बस्ने पाँचथर साविक यासोक-८ घर भएका ४३ वर्षीय पृथ्वी राज चेमजोङ्गलाई गोङ्गबुबाट आइतबार प्रहरीले पक्राउ गरेको छ।

चेमजोङ्गले मन्जु श्रेष्ठको नाममा पर्याप्त रकम नभएको प्रभु बैंक लिमिटेडको खाताको १० लाख ९४ हजार ५ सय रकमको चेक २०७० असार १४ गते जारी गरेकोमा उक्त चेकबाट नगद भुक्तान हुन नसकी चेक फिर्ता भएको थियो।

उच्च अदालत पाटनको २०७५ पुस १७ गतेको फैसलाले चेमजोङ्गलाई १५ दिन कैद र १० लाख ९४ हजार ५ सय रुपैयाँ जरिवाना हुने ठहर भएकोमा उक्त सजाय वेरुजु रही फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजको टोलीले पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरेको हो।

चेमजोङ्गलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरेकोमा कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा काठमाडौंमा पठाइएको छ।