NRNA खबर देश विदेश

मस्कोमा नेपाली राजदुतावासद्वारा भ्रमण वर्ष २०२० को भव्य उद्घाटन

मस्को, जनवरी २४–रुसको राजधानी मस्कोमा नेपाल भ्रमण वर्ष २०२० को औपचारिक रुपमा भव्य उद्घाटन गरिएको छ । रुसको राजधानी मस्को स्थित नेपाली राजदुतावासले नेपाल सरकारले मानाइरहेको भ्रमण वर्ष सफल पार्न औपचारिक रुपमा भ्रमण वर्षको भव्य उद्घाटन गरेको हो ।

मस्को स्थित नेपाली राजदुतावासको सभाहलमा आयोजित समुद्घाटन कार्यक्रममा रुसका लागि नेपाली राजदुत ऋषिराम घिमिरेले तथ्यांक अनुसार प्रत्येक वर्ष नेपाल भ्रमण गर्ने रुसी पर्यटकको संख्या बढ्दै गएको बताए । उनले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० सफल पार्न रुसी पर्यटन व्यवसायी र कार्यक्रममा उपस्थित अतिथिहरुलाई विश्वमै प्राकृतिक सौन्दर्यले धनि रहेको नेपाल अनिवार्य भ्रमण गर्नुपर्ने बताउँदै सवैलाई आ–आफ्नो तर्फबाट सहयोग गर्नसमेत आग्रह गरे ।

सो अवसरमा नेपालका लागि रुसी पूर्वराजदुत सेर्गेइ भ्यासिलेभिचले नेपाल एक पटक मात्र घुमेर नपुग्ने बताए । ‘नेपाल एक पटक घुमेर मात्र पुग्दैन, नेपाल साँच्चै विश्वमै सवैभन्दा शुन्दर छ । मलाई नेपाल गइरहन मन लाग्छ ।’ उनले भने,‘नेपाल भ्रमण वर्ष सफल पार्न म आफै जादैछु, हामीले हाम्रो तर्फबाट अरुलाई पनि नेपाल भ्रमणमा पठाउने छौँ ।’

कार्यक्रममा रुसी तल्लो सदनका सांसद भ्लादिमिर पुस्काराएभले भ्रमण वर्षकै शन्दर्भमा आगामी अप्रिल महिनामा आफ्नो नेपाल भ्रमणको योजना रहेको बताए । सो अवसरमा रुसी पर्वतारोहण संघका अध्यक्ष एलेक्सी अनातोलेभिचले पनि नेपालबारे वर्णन गरेका थिए । कार्यक्रममा गैर आवासीय नेपाली संघ(एनआरएनए) का वरिष्ठ उपाध्यक्ष डा. बद्री केसीले रुसी लगानी नेपालमा भित्रिरहेको जानकारी दिँदै नेपाल भ्रमण गरेर पनि नेपालमा लगानी भित्र्याउन सकिने बताए ।

कार्यक्रममा उपस्थित अतिथिहरुबीच नेपालको कला, संस्कृति साथै विभिन्न पर्यटकीय स्थलका जानकारीबारे ‘प्रिजेन्टेसन’ गरिएको थियो । सो अवसरमा नेपाली राजदुतावासले आयोजना गरेको रात्री भोज पश्चात उपस्थित सम्पूर्णलाई नेपाल अंकित टि–सर्ट, डाइरि लगायत विभिन्न पोस्टर सहितको नेपाल भ्रमण वर्ष २०२० उल्लेखित झोलासमेत वितरण गरिएको थियो ।

कार्यक्रममा रुसका लागि नेपाली राजदुत ऋषिराम घिमिरे, नेपालका लागि रुसी पूर्वराजदुत भेलिच्किन सेर्गेइ भ्यासिलेभिच, रुसको तल्लो सदन ‘दुमा’ क्षेत्र नीति समस्या समितिका सभापति तथा तल्लो सदनका सांसद भ्लादिमिर पुस्काराएभ, रुसी पर्वतारोहण संघका अधक्ष्य एलेक्सी अनातोलेभिच, गैर आवासीय नेपाली संघ(एनआरएनए) का वरिष्ठ उपाध्यक्ष डा. बद्री केसी, गैर आवासीय नेपाली संघ रुसका अध्यक्ष शिवमणि भुर्त्याल, रुसी पर्वतारोहीहरु, रुसमा बसोबास गर्दै आइरहेका नेपालीलगायत ६० भन्दा बढी विभिन्न रुसी पर्यटन व्यवसाय क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न भ्रमण वर्ष सुरु हुनु अघिदेखिनै रुसमा विभिन्न कार्यक्रमहरु हुँदै आएका छन् । करिब १ महिना अघिनै मस्को स्थित रेड स्क्वायरमा भ्रमण वर्षको सुरुवात भएसँगै व्यापक प्रचार गरिएको थियो ।

Featured