क्यालिफोर्निया, एजेन्सी, साउन १३-अमेरिकाको क्यालिफोर्निया राज्यमा संदिग्ध बन्दुकधारीले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ।
स्थानीय समयअनुसार आइतबार साँझ ५ बजेर ४१ मिनेटमा क्यालिफोर्नियाको एक गार्लिक फेस्टिभलमा बन्दुकधारीले गोली चलाउँदा चार जनाको मृत्यु भएको र १५ जना घाइते भएका प्रहरीले जनाएको छ। मारिनेमध्ये एक जना संदिग्ध बन्दुकधारी पनि छन्।
फेस्टिभलमा आएका गायक ज्याक भ्यान ब्रिनले आक्रमणकारीलाई हरियो लुगामा बन्दुक समातेको देखेको बताए। ‘कसैले चिच्याउँदै सोधको सुनें, तिमी यस्तो किन गर्दैछौ भनेर सोध्दा आक्रमणकारीले मलाई एकदम रिस उठेको छ भने,’ ब्रिनेले भने।
अर्का प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले फेस्टिभल भइरहेको स्थानबाहिर लगाएको बार काटेर भित्र आएका थिए। प्रहरीले बन्दुक आक्रमणमा दुई/तीन जनाको संलग्नता हुने सक्ने दाबी गरेको छ। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको पनि जनाइएको छ।
अमेरिकामा आमनागरिकलाई बन्दुक राख्न छुट छ। सबैले बन्दुक राख्न सक्ने भएकाले बेलाबेलामा हुने यस्ता आक्रमणमा परी निर्दोष मानिसहरूको ज्यान जाने गरेको छ। बन्दुक राख्न प्रतिबन्ध लगाउनु पर्ने माग उठे पनि अमेरिकाले बन्दुकमाथि प्रतिबन्ध लगाउने कानुन बनाउन सकेको छैन।
प्रतिक्रिया दिनुहोस