राजनीति विदेश

निस्पक्ष निर्वाचनको माग गर्दै रूसमा प्रदर्शन

मस्को, एएफपी, साउन १२-रूसको राजधानी मस्कोमा स्वतन्त्र र निष्पक्ष निर्वाचनको माग गर्दै सडकमा उत्रेका करिब एक हजार ४ सय प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ। स्थानीय निर्वाचनमा विपक्षी उम्मेदवारहरूलाई भाग लिन वञ्चित गर्ने निर्णयको विरोधमा रूसी राजधानी मस्कोमा करिब ४ हजार मानिस प्रदर्शनमा उत्रेका हुन्।

मस्को प्रहरीका अनुसार तीमध्ये ७ सय पत्रकार थिए। अधिकारीहरूले अनधिकृत रूपमा प्रदर्शनमा सरिक भएको भन्दै व्यापक धरपकड गरेका हुन्।सुरक्षाकर्मीहरूले नगरपालिकाको हलमा रहेका प्रदर्शनकारीलाई लाठीले हान्दै लखेटेको थियो। निष्पक्ष चुनाव माग गर्दै गत साता एक साताअघि करिब २२ हजार मानिसहरूले विरोध प्रदर्शन गरेका थिए। उक्त प्रदर्शन सन् २०१२ यताकै ठूलो भएको जनाइएको छ।

सुरक्षाकर्मीले आगामी सेप्टेम्बर ८ मा हुने सहरी परिषदको निर्वाचनमा भाग लिन वञ्चित गरिएका केही उम्मेदवारलाई पनि गिरफ्तार गरेका छन्। निर्वाचन आयोगका अधिकारीले आवश्यक हस्ताक्षर बुझाउन नसकेको भन्दै ३० जना उम्मेदवारलाई चुनाव लड्न अयोग्य घोषित गरेका थिए।

विपक्षी नेता एलेक्सी नाभाल्नीलाई प्रदर्शनको आयोजना गरेको भन्दै ३० दिने कारावास सजाय तोकिएको छ। कारावासमा रहेका नाभाल्नीमा स्वास्थ्य समस्या देखिएपछि उनलाई अस्पताल लगिएको बीबीसीेले जनाएको छ। नाभाल्नी रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर विरोधी हुन्।

अधिकारीहरूले अनधिकृत रूपमा विरोध र्‍याली निकाल्ने करिब १ हजार ३ सय ७३ लाई पक्राउ गरेको जनाएका हुन् तर अन्य स्रोतका अनुसार गिरफ्तार हुनेको संख्या केही बढी भएको दाबी गरेका छन्।

मस्कोका मेयर सेर्गेइ सोब्यानीनले प्रदर्शनकारीका कारण सहरको सुरक्षामा गम्भीर चुनौती उत्पन्न भएको दाबी गरे। उनले ‘आफू सार्वजनिक सुव्यवस्था कायम राख्न क्रियाशील रहेको’ बताए। स्थानीय निर्वाचनका लागि अयोग्य घोषित ३० उम्मेदवारमध्येकी एक ल्युनिभ सोबोलले टवीटरमार्फत ‘सरकारी अधिकारीहरूले होस गुमाएका’ प्रतिक्रिया दिएका छन्।

प्रहरीले मेयरको कार्यालयबाट प्रदर्शनकारीलाई हटाएको र गिरफतार गर्दै चौकीतिर लगेको थियो। सञ्चार माध्यमका अनुसार केही प्रदर्शनकारीको रगत बगेको देखिन्थ्यो भने केहीले प्रहरीलाई आक्रमण प्रयास गरेको देखिन्थ्यो।

रूसस्थित अमेरिकी दूतावासले ‘प्रदर्शनकारीमाथि अनावश्यक बल प्रयोग गरेको’ भन्दै आपत्ति जनाएको छ। दूतावासको प्रवक्ता एन्ड्रेया कलनले टवीटरमार्फत ‘प्रदर्शनकारीमाथिको हिंसा र पक्राउ जनताले लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन पाउने अधिकारविरुद्धको कदम भएको’ जनाए। त्यसैगरी, युरोपेली संघले रूसी प्रहरीको कार्यले ‘जनताको अभिव्यक्ति तथा सभासम्मेलन गर्न पाउने स्वतन्त्रताको अवमूल्यन’ गरेको जनाएको छ।

बाल्टिक समुद्रमा छुट्टी मनाइरहेका राष्ट्रपति पुटिनले ‘पृथ्वीमा धेरै समस्या रहेकाले समाधानका लागि ‘कहिले माथि त कहिले गहिरोमा जानुपर्ने’ प्रतिक्रिया दिएका छन्।

Featured