NRNA खबर देश विदेश

एनआरएनएको विशेष अधिवेशन आह्वान गर्न माग

काठमाडौं, पुस २४–गैरआवासीय नेपाली संघ (एनआरएनए) का निवर्तमान उपाध्यक्ष कुलप्रसाद आचार्यले तत्काल विशेष अधिवेशन आह्वान गर्न माग गरेका छन् । निवर्तमान उपाध्यक्ष आचार्य गत निर्वाचनमा अध्यक्ष पदमा पराजित भएका थिए । लण्डनमा पत्रकार सम्मेलन गर्दै आचार्यले नयाँ नेतृत्व अनेकन अनियमितता र अपारदर्शी गतिविधिमा संलग्न भइरहेको भन्दै विशेष अधिवेशनको विकल्प नरहेको बताए । एनआरएनए निवर्तमान उपाध्यक्ष आचार्यले आर्थिक र सांगठनिक प्रतिवेदन पारित नगरी नवौं अधिवेशन सकिएकाले संस्थाले गरेको खर्च अवैध ठहरिन सक्ने उल्लेख गरे ।

‘नवौं विश्व सम्मेलनमा आर्थिक प्रतिवेदन पारित नहुनु संस्थाकै लागि दुर्भाग्यपूर्ण हो, यसले हाम्रो संस्थाको गरिमामाथि नकारात्मक असर पर्छ, संस्थाभित्रका अनियमितताका समाचारहरू बाहिर आइरहेका छन्, सन् २०१८ मा आयोजित विश्व ज्ञान सम्मेलनमा काटिएको टिकट तथा होटल बुकिङको हिसाब सार्वजनिक गरिएको छैन,’ आचार्यले भने ।उनले आफू उपाध्यक्ष भएकै बेला दुई जना सीईओ राख्दा संस्थाले धान्न सक्दैन भनेर उठाएको विषय अहिले पनि रेकर्डमै नभएको उल्लेख गरे । सभा, सम्मेलनको आयोजनामा पनि पारदर्शीता कायम गरिएको छैन । उनले अघि भने, ‘संस्थालाई भर्याङ बनाएर व्यापार गर्ने र संसारभरिका एनआरएनहरूको विश्वासमाथि कुठाराघात गर्ने कार्यले प्रश्रय पाएको छ ।’

एनआरएनएलाई सिन्डिकेटको भरमा चलाउने प्रयासविरुद्ध आफूले उम्मेदवारी दिएको उल्लेख गर्दै आगामी दिनमा पनि खबरदारी जारी रहने आचार्यले प्रस्ट पारे । संघको चुनावी परिणाम घोषणा भएसँगै मौन रहेर निर्वाचन कार्यसमितिलाई निर्वाध रुपमा काम गर्न दिएको प्रस्ट पार्दै आचार्यले सन्तुलित रूपमा संघलाई नयाँ कार्यसमितिले लान नसकेपछि अगाडि आएको बताए ।

Featured