देश

सूचना प्रविधि विधेयक खारेज गर्न राप्रपा संयुक्तको माग

काठमाडौं, पुस २०–राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले सामाजिक सञ्जालसम्बन्धी विधेयकबाट सरकारले भजन मण्डली तयार गर्न लागेको ठहर गर्दै प्रस्तावित कानुन खारेज गर्न माग गरेको छ । ‘यो कानुनलाई रुपमा सत्ता पक्षले मर्यादा र अनुशासनको प्रतिक बताए पनि सारमा यो अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाएर सत्ताको भजन मण्डली तयार गर्ने नियोजित साजिस हो । विचार र धारणा माथि अंकुश लगाउने हतियार हो,’ आइतबार बसेको उच्च कार्यसम्पादन समितिको वैठकपछि राप्रपा (संयुक्त) ले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । एक दलीय अधिनायकवादलाई आफ्नो उद्देश्य र आदर्श मान्ने शक्तिबाट यस्तो कानुन निर्माणको क्रम अघि सारिनु अत्यन्तै आपत्तिजनक छ, विज्ञप्तिमा भनिएको छ ।

अराजकता, उच्छृंखलता, दण्डहीनता, अमर्यादा र अनुशासनहीनताको घोल ओडेर राष्ट्र र जनतालाई विषाक्त तुल्याउने प्रयासप्रति पनि सो पार्टीले आपत्ति जनाएको छ । ‘साइबर अपराधबारे सुनुवाइ गरी न्याय दिने अदालतको व्यवस्था गरिने उल्लेख भए पनि अदालतमा सरकारले न्यायाधीश तोक्ने तथा अदालतमा हावि राजनीतिकरणलाई दृष्टिगत गर्दा निष्पक्ष न्यायको सम्भावना देखिँदैन अतः राप्रपा (संयुक्त) यो कानुन खारेजीको माग गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।