देश

प्रदेश २ सरकार : विकास निर्माणमा सुस्त,सवारी साधन किन्न मात्रै ४० करोड बढी खर्च

जनकपुर,साउन ०९– प्रदेश नम्बर २ सरकारले आर्थिक वर्ष २०७५/७६ को पुँजीगत खर्च कुल बजेटको जम्मा ४९ प्रतिशत मात्रै गर्न सक्यो । पुँजीगत खर्च भन्नाले विकास निर्माणका काममा लगाएको खर्च अर्थात् विकास खर्च नै हो ।तर पुँजीगत खर्च गर्न नै नसकेर सङ्घीय सरकारमा बजेट फिर्ता भएर गइरहँदा प्रदेश २ सरकारले आफ्नो सेवा, सुविधा र विलासिताको खर्चमा भने राम्रै छलाङ मारेको देखिन्छ । प्रदेश २ सरकारले मुख्यतः सवारी साधनको खरिद तथा प्रयोगमा भने राम्रै छलाङ मारेको छ ।

प्रदेश २ सरकारले अगाडि सारेको विकासको योजना तथा आफैले प्रतिबद्धता जनाएका कैयौँ विकास निर्माणका काम अगाडि बढ्न सकेको छैन । आफ्नै कानुनसमेत निर्माण गरिनसकेको प्रदेश २ सरकारले सवारी साधनको खरिद तथा अनधिकृत प्रयोगलाई भने प्राथमिकतामै राखेको जस्तो देखिन्छ ।

आफूलाई अधिकार, विकास, सुशासन र सङ्घीयताको हिमायती बताएर नथाक्ने मुख्यमन्त्री लालबाबु राउतको सरकारले अहिले विलासिताको साधनमै बढी बजेट र समय खर्च गरेको तथ्य प्राप्त भएको छ ।आर्थिक वर्ष २०७५/७६ मा प्रदेश सरकारका विभिन्न मन्त्रालयले ३४ करोड ७५ लाख रुपैयाँको त सवारी साधन मात्रै खरिद गरेको छ । त्यसैगरी प्रदेशसभाले ८ करोड ३२ लाख रुपैयाँ सवारी साधन खरिदमा मात्रै प्रयोग गरेको छ ।आर्थिक वर्ष २०७५/७६ मा प्रदेश नम्बर २ को प्रदेश सभाले २ थान टेरोना कार, ९ थान स्कर्पियो, एक थान स्कर्पियो पिकअप, २ थान अर्बन निसान गाडी र एक थान सेलेरियो कार खरिद गरेको छ ।त्यसैगरी प्रदेश सभाले १४ थान मोटरसाइकलसमेत खरिद गरेको पाइएको छ ।