देश

‘प्रधानमन्त्रीले राष्ट्रपतिलाई कार्यकारी बनाउने प्रयास गरे’

काठमाडौं, पुस ९–समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले आलंकारिक राष्ट्रपतिले देखाएको सक्रियताप्रति आश्चर्यता प्रकट गरेका छन् । प्रधानमन्त्र केपी शर्मा ओलीको योजनाअनुसार नै राष्ट्रपतिले राजनीतिक सक्रियता बढाएको उनको आरोप छ । सरकारलाई दिएको समर्थन फिर्ता गरेको विषयमा जानकारी दिन बुधबार पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष भट्टराईले प्रधानमन्त्रीले राष्ट्रपतिलाई कार्यकारी बनाउन खोजेको आरोप लगाएका हुन् । ‘नेपालको शासकीय स्वरुप स्पष्ट नहुँदा प्रधानमन्त्रीले राष्ट्रपतिलाई प्रयोग गरेको देखिँदै छ,’ भट्टराईले भने ।

विवादमा राष्ट्र प्रमुख:सम्मानित बन्ने कि सक्रिय ?
उनले संविधान संशोधन गरेर मुलुकको प्रमुख निर्वा्चित कार्यकारी हुने व्यवस्था बनाउनुपर्ने बताए । ‘पहिचानका आधारमा संघीयता निर्धारण गर्नुपर्छ । संसद् समानुपातिक समावेशी बनाउनुपर्छ,’ उनले भने । समाजवादी पार्टी, केन्द्रीय परिषदका अध्यक्ष उपेन्द्र यादवले ओली सरकारको दुईतिहाइको दम्भ समाप्त भएको बताए । ‘उहाँहरूलाई दुईतिहाइको दम्भ थियो, हामी सरकारबाट बाहिरिएसँगै त्यो अब समाप्त भएको छ,’ यादवले भने ।

प्रधानमन्त्री ओलीले राजनीतिक संस्कारहीनता देखाएको आरोप पनि यादवले लगाए । ‘मन्त्रालय परिवर्तन गर्दा सत्ता साझेदार दललाई एक पटक सोध्ने प्रयाससमेत गर्नु भएन, बजेट निर्माण गर्ने छलफलमा बोलाउनु भएन । कुनै महत्त्वपूर्ण निर्णय गर्दा सरसल्लाह भएन, यो कुन खालको राजनीतिक संस्कार हो ?,’ उनले प्रश्न गरे ।

संविधान संशोधन गर्नुपर्ने आफूहरूको सर्त सरकारले पूरा नगरेकाले सरकारबाट बाहिरिएको उनको स्पष्टोक्ति थियो । यादवले निर्वाचन प्रणाली, शासकीय स्वरुप, संघीय प्रणालीलगायत विषयमा संविधान संशोधन गर्नुपर्ने बताए ।

Featured