देश

सर्लाहीमा कम्प्युटर अपरेटर ७० हजार घुससहित पक्राउ

काठमाडौं, पुस ९–घरेलु तथा साना उद्योग कार्यालय मलंगवा सर्लाहीमा कार्यरत कम्प्युटर अपरेटर (करार) नवीनकुमार सिंह ७० हजार घुस रकमसहित पक्राउ परेका छन् । उद्योग दर्तामा सहयोग गर्ने भन्दै सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले सिंहलाई रकमसहित बुधबार पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । यसबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

यस्तै रुपन्देही जिल्ला अदालतमा कार्यरत नायब सुब्बा बुद्धिप्रकाश न्यौपाने र लेखापाल विनोद शर्मा पनि दुई हजार रूपैयाँ घुससहित पक्राउ परेका छन् । धरौटी रकम फिर्ता दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाका बुटवल कार्यालयबाट खटिएको अख्तियार टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

लेखापाल शर्मा आन्तरिक राजस्व कार्यालय भैरहवा दरबन्दी भई रुपन्देही जिल्ला अदालतमा लेखासम्बन्धी कामकाज गर्न खटिएका थिए भने नासु न्यौपाने रुपन्देही जिल्ला अदालतमा कार्यरत थिए । उनीहरू रुपन्देही जिल्ला अदालतको अगाडि बार एसोसिएसन भवन नजिकैबाट रंगेहात पक्राउ परेको प्रवक्ता कोइरालाले जानकारी दिए ।

Featured