खेलकुद देश

विराटनगरले बुटवललाई पराजित गर्दा काठमाडौं पिपिएलको लिग चरणबाटै बाहिरियो

पोखरा, पुस ९–विराटनगर टाइटन्सले बुटवल ब्लास्टर्समाथि सानदार जित हासिल गर्दा काठमाडौं गोल्डन वारियर्स पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) टि(२० क्रिकेट प्रतियोगिताको लिग चरणबाटै बाहिरिएको छ । विराटनगर टाइटन्स भने क्वालिफायर (इलिमेनेटर) मा प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबार भएको अन्तिम लिग चरणको खेलमा विराटनगरले उत्कृष्ट खेल प्रदर्शन गरी ४ विकेटले बुटवल ब्लास्टर्समाथि जित हासिल गरेपछि इलिमेनेटरमा प्रवेश गरेको हो । यसअघि, बुटवल ब्लास्टर्सले भने नकआउट चरणमा स्थान पक्का गरेको थियो ।

विराटनगरको जितसँगै काठमाडौं गोल्डन वारियर्स प्रतियोगिताको लिग चरणबाटै बाहिरिनुपरेको हो । काठमाडौं र विराटनगरको समान ४ अंक भए पनि नेट रन रेटका आधारमा विराटनगर शीर्ष स्थानमा रहेको हो । लिगका पाँच खेलमध्ये दुबै टिमले ३ मा हार र दुईमा जित दर्ता गरी समान ४ अंक बटुलेका थिए ।

बुधबार भएको खेलमा १२ ओभरमै विराटनगरले बुटवलमाथि जित दर्ता गर्दा विराटनगरले फाइनल यात्राका लागि बुटवलसँगै प्रतिस्पर्धा गर्ने भएको हो । बुटवलले भने ६ अंकसहित समूहबाट दोस्रो स्थानमा रहँदै स्पष्ट रुपमा इलिमेनेटरमा स्थान सुरक्षित गरेको थियो । पारस खड्काको कप्तानीमा मैदानमा उत्रिएको चितवनले लिगका ५ खेलमै सानदार जित निकाल्दै समूहकै शीर्ष स्थानमा रहँदै १० अंकका साथ फाइनलमा स्थान बनाएको हो ।

फाइनल यात्राको लागि भोलि बिहीबार बुटवल ब्लास्टर र विराटनगर टाइटन्सबीच खेल हुने भएको छ । उपाधिसहितको २७ लाख रुपैयाँ पुरस्कारका लागि शनिबार फाइनल खेल चितवन राइनोज र भोलि बिहीबारको खेलको विजेताबीच हुनेछ । पोखरा रंगशालामा बुधबार भएको खेलमा टस जितेर फिल्डिङ रोजेको विराटनगरलाई अघिल्लो चरणमा पुग्न जतिसक्दो कम स्कोरमा बुटवललाई रोक्न दबाब परेको थियो । बुटवलले निर्धा्रित २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रनको चुनौतीपूर्ण योगफल तयार पार्यो । १२ ओभरभित्रै १३४ रनको योगफल तयार पर्ने चुनौती सामाना गरेको विराटनगरले २ बल बाँकी रहँदै लक्ष्य पूरा गर्न सफल भएको हो ।

विराटनगरले ६ विकेटको क्षतिमा ११.४ ओभरमै लक्ष्य पूरा गरेको हो । खेलमा प्लेयर अफ दि म्याच विराटनगरका आलम घोषित भए । विराटनगरका नोमन खानले ३५, पुनित मेहराले ३२, ओपनर मोहम्मद जाएद आलमले २४ रनको योगदान दिए । बुटवलका हर्ष टन्कले अर्धशतक पुरा गरी ६७ रन, शिभम सिंहले ३७ रन जोडेका थिए । विराटनगरका जाएद आलमले ४ तथा किशोर महतोले २ विकेट लिए । त्यस्तै बुटवलका नितेश थापाले २ तथा अविनाश बोहरा, कमल खत्री र हर्ष टंकले समान १÷१ विकेट लिए । प्रतियोेगितामा ६ टिमको सहभागिता छ ।

Featured