देश

भ्रमण वर्ष २०२० : प्रदेश नं. १ मा ५ लाख पर्यटक भित्र्याइने

विराटनगर, पुस ९–भ्रमण वर्ष २०२० को अवसर पारेर १ नं. प्रदेश सरकारले ५ लाख बढी पर्यटक भित्रयाउने तयारी गरेको छ । ५ लाख पर्यटक भित्रयाउनेगरि प्रदेश नं. १ को उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयले विभिन्न कार्यक्रमहरुसहित तयारी थालेको हो ।

भ्रमण वर्षको आगामी पुस १६ गते शहिद मैदान विराटनगरमा प्रदेश स्तरिय उद्घाटन कार्यक्रम रहेको उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री जगदिशप्रसाद कुसियतले मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गर्दै जानकारी दिए । मन्त्री कुसियतले भ्रमण वर्षलाई व्यापक बनाउने गरि तयारी तीव्र पारिएको बताए ।

नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा घोषणा गरेर २० लाख पर्यटक भित्राउने लक्ष्य लिएको र सोही अभियानलाई सार्थक तुल्याउन प्रदेश सरकारले ५ लाख पर्यटक भित्रयाउने लक्ष्य लिएको मन्त्री कुसियतले बताए । उद्घाटनका दिन प्रदेश नं. १ का विभिन्न जातजातिको झाँकी प्रर्दशन गर्ने र नमूना पर्यटन गीत प्रस्तुत गर्ने कार्यक्रम रहेको मुल समारोह व्यवस्थापन उपसमितिका संयोजक फणिन्द्र अधिकारीले पत्रकार सम्मेलनमा बताए । उद्घाटनमा प्रदेशभरीबाट करिव १० हजारको सहभागिता रहने उनले जानकारी दिए ।

उद्घाटन कार्यक्रमका दिन प्रदेश नं. १ सँग जोडिएका भारतीय सीमावर्ती क्षेत्रका पर्यटन व्यवसायीलाई पनि सहभागिताका लागि निमन्त्रणा गरिएको उनले बताए । उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयले भ्रमण वर्षलाई सफल बनाउनका लागि विभिन्न १२ वटा उपसमितिहरु बनाएर काम गरिरहेको छ ।

नेपाल सरकारले घोषणा गरेको १ सय वटा पर्यटकीय गन्तव्यको सूचीमा प्रदेश नं. १ मा मात्रै १६ वटा पर्यटकीय स्थल समावेस छन् । पर्यटकीय गन्तव्य स्थलमा पुग्नका लागि सहज होस भनेर भौतिक पूर्वाधार विकासका लागि प्रदेश सरकारले १ अर्व बढी रकम विनियोजन गरि काम गरिरहेको मन्त्रालयका सचिव सञ्जीवकुमार राईले बताए ।

Featured