देश

दाङमा २० हजार सवारी चालक कारबाहीमा

तुलसीपुर, पुस ९–दाङमा चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा २० हजार ३ सय सवारीचालक कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रेमप्रसाद रेग्मीका अनुसार ट्राफिक नियमविपरीत सवारी चलाउँदा कारबाहीमा परेका ती सवारीचालकबाट १ करोड ५५ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा ३४ हजार ५ सय १० सवारीचालकको कारबाहीबाट १ करोड १३ लाख ५ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । चालू आवको साउनमा २ हजार ४ सय सवारीचालकमाथिको कारबाहीबाट १५ लाख ७ हजार ५ सय राजस्व संकलन भएको छ ।

त्यस्तैऽ भदौमा ४ हजार ३ सय चालकको कारबाहीबाट २६ लाख ९३ हजार ५ सय रुपैयाँ, असोजमा ४ हजार ६ सय ५० सवारी चालकको कारबाहीबाट २८ लाख ४२ हजार ५ सय रुपैयाँ, कात्तिकमा ४ हजार ४ सय चालकको कारबाहीबाट २७ लाख २२ हजार र मंसिरमा ४ हजार ५ सय ५० सवारीचालकको कारबाहीबाट २८ लाख १५ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।

सो अवधिमा ३ हजार ७ सय ३५ बस चालक, ३ हजार ६ सय ७७ ट्रक चालक, २ हजार ६ सय १५ जीपचालक, ७ हजार ६ सय ६० मोटरसाइकल चालक, १ हजार ९ सय २७ ट्र्याक्टर चालक, १ हजार ६ सय ८६ टेम्पोचालक गरी सो परिमाणका सवारीचालक कारबाहीमा परेको ट्राफिक प्रमुख रेग्मीले जानकारी दिए । उनले मापसे गरेर सवारी चलाएका, सिटबेल्ट नलगाएका, उछिन्ने, छतमा यात्रु राखेका, प्रयोजनविपरीत चलाएका, लेन अनुशासन मिचेकाजस्ता कारणले गर्दा उनीहरूलाई कानुनी दायरामा ल्याइएको बताए ।

Featured