देश

राष्ट्रिय च्याउ जागरण अभियान सुरु

भद्रपुर, पुस ९–च्याउ उत्पादक किसान संघ नेपालले अनाधिकृत रूपमा भारतबाट आयात हुने कम गुणस्तरका च्याउको आयात बन्द गर्न, स्वदेशमै भइरहेका गुणस्तरीय च्याउ उत्पादन र बजारीकरणमा सहजीकरण गर्न सरकारसँग माग गर्दै आजदेखि मेची महाकाली यात्रा सुरु गरेको छ । आज बिहान पूर्वी नाका काँकडभिट्टाबाट राष्ट्रिय च्याउ जागरण अभियान २०७६ को उद्घाटन जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले गरे ।

देशभरका ३५ हजार च्याउ किसान संगठित भएको संस्थाले पहिलोपटक जागरण अभियान सञ्चालन गरेको संघका अध्यक्ष प्रेमनारायण अधिकारीले बताए । उनले यात्रामा मेचीदेखि महाकालीसम्मका २९ वटा स्थानमा च्याउ किसान, व्यवसायी, स्थानीय तहहरूसँग अन्तरक्रिया गर्दै उत्पादनमा आधारित अनुदानलाई प्रभावकारी बनाउन, बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने सहुलियत दरको कर्जा सहज रूपमा उपलब्ध गराउन, च्याउ बीमा प्रभावकारी रूपमा लागू गराउन, पोष्ट हार्भेस्टसम्बन्धी उच्च ज्ञानको आदानप्रदान गर्नुका साथै किसानको समस्या पहिचान गरी समाधानको पहल गरिने जानकारी दिए ।

सरकारलाई राष्ट्रिय च्याउ केन्द्र स्थापनाका लागि नीति बनाउन दबाब सिर्जना गर्नका लागि यात्राकै क्रममा यही पुस १५ गते हेटौंडामा बृहत् र्यालीसहित दबाबमूलक कार्यक्रम गरिने संघका सहअध्यक्ष चित्रराज तिम्सिनाले बताए । उनले २९ गते डडेल्धुरा पुगेर यात्रा सकिने र पुनः काठमाडौं नै पुगेर भव्य कार्यक्रम आयोजना गरी समापन गरिने जानकारी दिए ।

Featured