देश

अवैधरूपमा नेपाल छिरेका चिनियाँसँग पासपोर्ट नै छैन

काठमाडौं, पुस ९–गैरकानुनीरूपमा नेपाल आएका अधिकांश चिनियाँ नागरिकसँग पासपोर्ट नै नभएको तथ्य फेला परेको छ। नेपाल र चीन सरकारद्वारा गरिएको अप्रेसनका क्रममा पक्राउ परेका ती नागरिकको अनुसन्धान गर्ने क्रममा उक्त तथ्य फेला परेको प्रहरी अधिकारीहरूले जनाएका हुन् । चीन र कम्बोडियाबाट नेपाल आएका ती चिनियाँँ नागरिकहरूले पासपोर्ट च्यातेको तथ्य फेला परेको सो घटनाको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले जानकारी दिए ।

पक्राउ परेका केही चिनियाँ नागरिकसँग पासपोर्ट भए पनि उनीहरू भिसाको म्यादभन्दा बढी समय बसेको पाइएको ती अधिकारीले बताए।नेपालमा आएर बसेका झन्डै ३ हजारको संख्यामा रहेका आपराधिक मनोवृत्तिका चिनियाँ नागरिकबारे प्रहरीले खोजीकार्य तीव्र बनाएको छ भने राजधानीबाट भागेर अन्यन्त्र जानसक्ने सम्भावना भएका उनीहरूको खोजीका लागि सीमा क्षेत्रमा समेत प्रहरीको टोली परिचालन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

नेपाल प्रहरीको विभिन्न शाखाको संयुक्त टोलीले छापा मारी गत सोमबार १ सय ३० जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । पक्राउ परेका ती चिनियाँ नागरिकबारे थप अनुसन्धान गर्न प्रहरीले मंगलबार ५ दिनका लागि जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरेको छ। गैरकानुनीरूपमा नेपाल प्रवेश गरेर नेपाली भूमि प्रयोग गरी चीन सरकार र चिनियाँ नागरिकलाई पीडित बनाउने काममा संलग्न रहेका ती चिनियाँ नागरिकको चीन सरकारले पासपोर्ट नै रद्द गर्ने तयारी गरेकाले उनीहरूलाई चीनतर्फ फर्काउने तयारी भएको एक प्रहरी अधिकारीले जानकारी दिए।

ती अधिकारीका अनुसार पछिल्लोपटक नेपाल प्रवेश गरेका चिनियाँ नागरिकहरूले सामाजिक सञ्जालमा नक्कली आइडी प्रयोग गरी चिनियाँ युवतीसँग ठूलो रकम रकम संकलन गरी आफ्नो खातामा जम्मा गर्ने गरेको तथ्यसमेत फेला परेको छ। पक्राउ परेका चिनियाँ नागरिकले नेपालमा बसेर चिनियाँ युवतीहरूलाई माया–प्रेममा पारेर नेपाललगायतका विभिन्न मुलुक घुमाउने भन्दै ती युवतीहरूसँग पैसा असुल गर्ने गरेको पाइएको ती अधिकारीले बताए । नेपाल समाचारपत्रबाट

Featured